१९ मंसिर २०८२, शुक्रबार

देशभर छठ पर्वकाे राैनकता बढ्दै

छठ पर्व राष्ट्रिय पहिचान, सहअस्तित्व र साझा नेपालीपनको प्रतीक बन्दै गएको छ
प्रकाशित मिति :  26 October, 2025 6:20 am


काठमाडौँ । तराईको सांस्कृतिक परम्पराबाट सुरु भई अहिले समग्र नेपाली समाजको साझा उत्सव बनेको छठ पर्व हिजाेदेखि देशभर आरम्भ भएको छ ।

सूर्य देवताको उपासना र प्रकृतिप्रतिको आस्था मिसिएको यो पर्वले भौगोलिक र सांस्कृतिक विविधता भएका नेपालीहरूलाई एउटै डोरामा बाँध्ने माध्यम बन्दै गएको छ ।

पहिलो दिन ‘नहा खा’ विधिबाट सुरु भएको यो पर्व चार दिनसम्म विशेष निष्ठा र शुद्धताका साथ मनाइन्छ । सोमबार अस्ताउँदो सूर्यलाई र मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्व सम्पन्न गरिनेछ ।

राष्ट्रिय एकताको पर्व

कुनै समय तराई–मधेशको सीमित सांस्कृतिक उत्सव मानिने छठ अहिले काठमाडौँसहित देशका प्रमुख शहरहरूमा समान जोशका साथ मनाइँदै छ ।

पहाड, हिमाल र तराईका समुदायबीच धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा यस पर्वको प्रभाव फैलँदो गएको छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार, “छठले सांस्कृतिक दूरी घटाउँदै नेपाली पहिचानलाई बलियो बनाएको छ । यो पर्व अब केवल कुनै समुदायको नभई सम्पूर्ण नेपालीको गौरव बनिसकेको छ।”

व्रतालुहरू हिजाे ‘नहा खा’ गरेर शरीर र मन शुद्ध गर्ने परम्परा पूरा गरे । त्यसपछि आइतबार आज ‘खरना’मा उपवास बसेर चन्द्रदर्शनपछि दूध–चामलको खीर छठी मातालाई अर्पण गर्दै छन् ।

तेस्रो दिन ‘सँझिया घाट’मा व्रतालुहरू सूर्यास्तका बेला जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । बाँसको टोकरीमा ठेकुवा, कसार, उखु, नरिवल, मुला लगायत प्रसादसहितको पूजा यस पर्वको विशेष आकर्षण हो । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने ब्रत सम्पन्न गरिन्छ ।

पौराणिक आधार र लोककथा

छठ पर्वको सुरुवातबारे विभिन्न पौराणिक आख्यानहरू प्रचलित छन् । सत्ययुगमा राजा सरयातीकी छोरी सुकन्याले, द्वापरयुगमा द्रौपदीले पाण्डवहरूको सफलता कामना गर्दै र सूर्यपुराणमा अनुसुयाले छठीको पूजा गरेको उल्लेख पाइन्छ ।

साम्बपुराणमा श्रीकृष्णका पुत्र साम्बले सूर्य आराधनाबाट कुष्ठरोगमुक्त भएको कथा पनि यस पर्वसँग जोडिन्छ । त्यसबेलादेखि नै सूर्य आराधनाको परम्परा लोकआस्थाको रूपमा स्थापित भएको बताइन्छ ।

सामाजिक र सांस्कृतिक अर्थ

छठलाई केवल धार्मिक पर्वको रूपमा होइन, प्रकृति र मानवबीचको सम्बन्ध सुदृढ गर्ने आध्यात्मिक अभ्यासका रूपमा पनि हेरिन्छ । सूर्यको प्रतीकात्मक आराधनाले ऊर्जा, स्वच्छता र जीवनशक्तिप्रतिको कृतज्ञता प्रकट गर्छ ।

संस्कृतिविद् टण्डनका शब्दमा, “छठले नेपाली समाजमा सहिष्णुता र सहअस्तित्वको सन्देश दिएको छ । राज्यले यसलाई राष्ट्रिय पर्वको मान्यता दिनु त्यसैको औपचारिक स्वीकृति हो।”

राजधानीदेखि गाउँसम्म समान उत्साह

तराईका नदीघाटदेखि काठमाडौँको वागमती किनारासम्म सूर्य अर्घको तयारी चलिरहेको छ । सहरमा पनि गाउँजस्तै उत्साह देखिन्छ, व्रतालुहरू शुद्धताका साथ विधि पूरा गर्न व्यस्त छन्, र सूर्यदेवलाई समर्पित दीपहरूको उज्यालोले देश एकताको प्रतीक बनेको छ । छठ अब केवल आस्थाको पर्व होइन-यो राष्ट्रिय पहिचान, सहअस्तित्व र साझा नेपालीपनको प्रतीक बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !