अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ९० अर्ब निक्षेप तान्दै
काठमाडौँ । तिहारपछि पनि वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले यो रकम बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन उपकरण प्रयोग गरी तान्न लागेको हो ।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तरलता र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ब्याजदर निर्धारण बोलकबोल प्रणालीमार्फत हुनेछ र दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले बोल गरेको ब्याजदरमध्ये सबैभन्दा कम दर बोल्ने संस्थालाई प्राथमिकता दिइनेछ।
राष्ट्र बैंकका अनुसार आजको बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ, र यस निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज रकम २०८२ मंसिर २१ गते भुक्तानी गरिनेछ।
निक्षेपका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोडको गुणनफलका रूपमा निःशेष भाग जाने गरी निर्धारण गरिएको छ।
केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ।
यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। आजको बोलकबोलले पनि बजारमा बढ्दो तरलता नियन्त्रणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।








