छठ पर्वले समानता र एकताको सन्देश बोकेको छ- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
उनका अनुसार छठ पर्व धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको प्रतीकका रूपमा समाजमा गहिरो प्रभाव पार्ने पर्व हो ।
छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताप्रति आस्था र श्रद्धाको यो पर्व वर्षौंयता श्रद्धा, भक्ति र विश्वासका साथ विस्तार हुँदै आएको बताए ।
उहाँका अनुसार सूर्यदेव समानताको प्रतीक हुन्-जसले भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र ऊर्जा प्रदान गर्छन् । यही कारण छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउँदै आएको उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले छठ पर्वले सामाजिक विभेद र विसङ्गति अन्त्य गर्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरे । उनले देशमा उत्पन्न चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने उल्लेख गर्दै साझा समझदारी र राष्ट्रिय एकताको आवश्यकता औँल्याए ।
त्यस्तै, उनले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी दिए ।
“समृद्ध लुम्बिनी, खुसी नागरिक हाम्रो लक्ष्य हो,” मुख्यमन्त्री आचार्यले भने, “धार्मिक, सांस्कृतिक र सामाजिक विविधतामार्फत् एकता र समृद्धिको बाटोमा अघि बढ्न सबैको सहभागिता अपरिहार्य छ ।”








