१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा गुह्वेश्वरीमा सूर्यसहित छठी माताको पूजा आराधना

प्रकाशित मिति :  27 October, 2025 3:52 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएका छन् ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि राष्ट्रपति पौडेलले राजधानीका छठ घाटमध्ये गुह्वेश्वरीमा मात्र उपस्थित भएर पूजाआराधना गर्नु भएको हो ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म भव्य रूपमा मनाइन्छ । काठमाडौँ उपत्यकामा गुह्वेश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको थियो । यहाँ छठ पर्व हेर्न सर्वसाधारणको उल्लेख्य भीड पनि थियो ।

यी स्थानमा छठी माताको माटोको मूर्ति निर्माण गरी पूजा आराधना गरिएको थियो । आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरू मंगलवार बिहान सूर्य उदाउँदा सम्म जाग्राम बस्ने परम्परा रहेको छ । बिहान सूर्य उदाउँदा अघ्र्य दिएपछि चार दिने छठ पर्व सम्पन्न हुन्छ ।

सूर्यपुराण र महाभारतका कथाहरूमा पनि छठ पर्वको महत्व उल्लेख छ। महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा गरी एक वर्षे अज्ञातवास सफल गरेको विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।



प्रतिक्रिया दिनुहोस !