१९ मंसिर २०८२, शुक्रबार

एमालेमा ओलीको विकल्प छैन-थापा

प्रकाशित मिति :  27 October, 2025 5:51 pm


अर्घाखाँची । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले पार्टीभित्र वा बाहिरबाट नेतृत्व परिवर्तनका प्रयासहरूलाई असफल हुने चेतावनी दिएका छन् ।

उनले एमाले केपी शर्मा ओलीको नेतृत्वबिना टिक्न नसक्ने दाबी गर्दै पार्टी एकता र नेतृत्वप्रतिको आस्था कायम राख्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सन्धिखर्कमा सोमबार आयोजित एमालेको विरोध प्रदर्शनपछि आयोजित सभामा बोल्दै थापाले केही राजनीतिक तत्वहरूले “धमिलो पानीमा माछा मार्ने” कोसिस गरिरहेको आरोप लगाए ।

“एमालेबिनाको देश वा ओलीबिनाको एमालेको कल्पना गर्नु नै भ्रम हो,” उनले भने, “महाधिवेशन अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्छ, कसैले भ्रम नपालोस् ।”

थापाले पार्टीभित्र विभाजन ल्याउने वा भ्रम फैलाउने अभियानमा सामाजिक सञ्जाल प्रयोग भइरहेको आरोप लगाउँदै ती अभियानहरू बाह्य शक्तिद्वारा प्रेरित भएको दाबी गरे ।

उनका अनुसार, “एमालेको चिन्ता अरूले होइन, एमालेकै कार्यकर्ताले गर्न सक्छन्, बाहिरबाट गोहीका आँसु खसालेर केही हुँदैन ।” उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई “राष्ट्रघाती गिरोहको योजनाबद्ध गतिविधि” भने ।

उनका अनुसार, जेन–जी आन्दोलनका नाममा देशभर भएको तोडफोड र आगजनीले अर्बौंको क्षति पुर्याएको छ । “हामी जायज मागका पक्षमा छौं तर विध्वंसकारी कार्यलाई कुनै हालतमा मान्यता दिन सकिँदैन,” उनले जोड दिए ।

थापाले अहिलेको सरकारले कानुनी वैधता गुमाएको दाबी गर्दै संसद् पुनःस्थापना नै समस्याको समाधान हुने बताए। “देशमा ‘रुल अफ ल’ होइन, ‘हुल अफ ल’ चलेको छ,” उनले व्यङ्ग्य गर्दै भने, “यो सरकार कानुनी रूपमा बनेको छैन, त्यसैले निर्वाचन गराउने अधिकार पनि यसलाई छैन ।”

त्यस क्रममा उनले अर्घाखाँची जिल्लाबाट सुरु भएको प्रदर्शनलाई देशव्यापी सन्देशको सुरुवात भएको बताए। “७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो ठूलो प्रदर्शन गरेर देशभर सन्देश दिएको छ,” उनले भने, “एमाले कार्यकर्ताको बल र अनुशासनमै अडिएको पार्टी हो।”

एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि आन्दोलनका नाममा भएको तोडफोडमा संलग्नहरूलाई कानुनी कारबाही गर्न माग गरे । “जेन–जी आन्दोलनमा घुसपैठ गरेर देशमा अशान्ति फैलाउनेहरूले सजाय पाउनैपर्छ,” उनले भने।



प्रतिक्रिया दिनुहोस !