१९ मंसिर २०८२, शुक्रबार

तिहार र छठपछि सिंहदरबारमा पुनः चहलपहल, सरकारी कामकाज नियमित

प्रकाशित मिति :  28 October, 2025 2:16 pm


काठमाडौँ । तिहार र छठ पर्वको लामो सार्वजनिक बिदा सकिएसँगै मङ्गलवारदेखि देशको प्रशासकीय केन्द्र सिंहदरबारमा पुनः चहलपहल बढेको छ । पर्व मनाउन गाउँघर गएका कर्मचारीहरू कार्यालय फर्किएसँगै सरकारी सेवा प्रवाह नियमित रूपमा सुरु भएको हो ।

मङ्गलवार बिहानैदेखि सिंहदरबारका मुख्य सचिवालय, विभिन्न मन्त्रालय र विभागहरूमा कर्मचारीहरूको आवतजावत बढेको देखिएको छ ।

गेटमा सुरक्षाकर्मीको कडाइ, पार्किङ क्षेत्रमा सवारी साधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइल बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि पुनः तिब्र बन्दै गएको संकेत गरेको छ ।

तिहारको भाइटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा रहेका कारण सिंहदरबार सुनसान बनेको थियो ।

तिहारपछि आइतबार एक दिन मात्र कार्यालय खुलेपनि सो दिन अधिकांश कर्मचारी उपस्थित नहुँदा कामकाज प्रभावकारी हुन सकेको थिएन । सोमबार छठ पर्वको बिदा परेकाले कार्यालयहरू बन्द नै रहे तर मङ्गलबारदेखि भने सिंहदरबार पूर्णरूपमा सञ्चालनमा आएको छ ।

मन्त्रालयहरूमा नियमित बैठकहरू पुनः सुरु भएका छन् भने सेवा प्रवाहका लागि आएका सर्वसाधारणको उपस्थिति पनि बढ्न थालेको छ ।

सरकारी अधिकारीहरूका अनुसार अब आगामी आर्थिक तथा नीतिगत कामहरूलाई तीव्रता दिँदै पर्वपछिको प्रशासनिक गतिलाई निरन्तरता दिने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !