१९ मंसिर २०८२, शुक्रबार

भूमिगतबाट बैधानिक यात्रातर्फ : विप्लवको दल ‘कम्युनिस्ट पार्टी नेपाल’ निर्वाचन आयोगमा

जनताको समर्थन मतपेटिकामार्फत् परीक्षण गर्ने तयारीमा छाैँ-प्रवक्ता प्रकाण्ड
प्रकाशित मिति :  28 October, 2025 2:29 pm


काठमाडौँ । दशक लामो भूमिगत राजनीति पछ्याउँदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह अब प्रत्यक्ष लोकतान्त्रिक प्रतिस्पर्धातर्फ मोडिएको छ । उनका निकट नेताहरूले मङ्गलवार ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

दल दर्ताका लागि आयोग पुगेका नेताहरूमा सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), कर्णजित बुढा लगायत थिए । यो नाम पार्टी अध्यक्ष विप्लवले प्रस्ताव गरी केन्द्रीय तहबाट अनुमोदन गराएर पठाएको बताइएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै विप्लव समूहले यो कदम चालेको हो । दल दर्ताका लागि कात्तिक ३० गतेसम्मको समयसीमा रहेको अवस्थामा उनीहरूले समयअघि नै निवेदन दिएका छन् ।

प्रवक्ता प्रकाण्डले दल अब प्रत्यक्ष रूपमा चुनावमा भाग लिने जानकारी दिए । उनले भने, “हाम्रो पार्टीले अब जनमत र मतपेटिकामार्फत जनताको समर्थनको परीक्षण गर्न चाहेको हो ।”

विप्लव समूहको यो निर्णयले नेपालमा वाम आन्दोलन नयाँ दिशातर्फ उन्मुख भएको संकेत गरेको छ । दशकअगाडि सशस्त्र आन्दोलनका कारण प्रतिबन्धित अवस्थामा पुगेको यो समूह अहिले कानुनी दायराभित्र प्रवेश गर्दैछ ।

निर्वाचन आयोगका अनुसार, हालसम्म १२४ दल दर्ता भइसकेका छन् भने थप १७ दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले अब निवेदनको अध्ययन गरी ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम स्वीकृत गर्ने वा नदिने निर्णय गर्नेछ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो कदम विप्लव समूहको “भूमिगतबाट बैधानिक यात्रातर्फको ऐतिहासिक मोड” हो, जसले नेपालमा विचारदेखि अभ्याससम्मको कम्युनिस्ट राजनीतिलाई नयाँ अध्यायमा प्रवेश गराएको छ ।



प्रतिक्रिया दिनुहोस !