१९ मंसिर २०८२, शुक्रबार

मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि लङबीच भेटवार्ता : सुशासन र सहकार्यमा जोड

प्रकाशित मिति :  28 October, 2025 4:00 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभाग प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा व्यापक छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएकाे छ ।

भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रम कार्यान्वयनमा निरन्तरता दिइरहेको भन्दै संघीयतालाई बलियो बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएकाे मुख्यमन्त्रीका प्रेस संयाेजक दशरथ घिमिरेले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

भेटमा मुख्यमन्त्री आचार्यले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनले प्रशासनिक र भौतिक संरचनामा प्रत्यक्ष तथा अप्रत्यक्ष चुनौती ल्याएको जानकारी दिएकाे घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूको निरन्तरता र बेलायती सहयोगबाट अगाडि बढाइएका परियोजनाहरू स्थायित्वका साथ कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिएका थिए ।

मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षको लागि बजेटमा २० प्रतिशत कटौती गर्नुपरेको जानकारी दिंदै, जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रममा कटौती नगर्ने नीति अपनाइएको स्पष्ट पारेका थिए ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार पारेको समेत जानकारी गराएका थिए । पाँच लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गरी पारदर्शिता सुनिश्चित गरिएको उनको भनाइ थियो ।

युवाहरूको आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको र उक्त समितिले प्रतिवेदनमार्फत सुझाव पेश गर्ने जानकारी पनि दिइएकाे थियो ।

भेटमा बेलायती प्रतिनिधि एन्ड्रु लङले नेपाल–बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने बताएका थिए । भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपालसहित अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !