१९ मंसिर २०८२, शुक्रबार
एमाले महासचिव पाेखरेल गृहजिल्लामा

क्षतिग्रस्त संरचना अवलोकन गर्दै पोखरेलले भने : आन्दोलनको आवेगले देशलाई पछाडि धकेल्यो

प्रकाशित मिति :  28 October, 2025 8:46 pm


दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको मंगलबार तुलसीपुरमा अवलोकन गरेका छन् ।

आन्दोलनपछि पहिलो पटक गृहजिल्ला दाङ पुगेका पोखरेलले तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, उपमहानगरपालिकाको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्टका साथै कांग्रेस नेताहरू गेहेन्द्र गिरी र डिल्ली चौधरीका क्षतिग्रस्त घरहरू अवलोकन गरेका हुन् ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले तोडफोड र आगजनीका घटनाले मुलुकलाई दीर्घकालीन रूपमा ठूलो क्षति पुर्‍याएको बताए । “यो राष्ट्रमाथिको ठूलो घात हो,” उनले भने, “फेरि पनि हामी खरानीबाट उठ्नै पर्छ ।” उनले यस्ता घटना दोहोरिन नदिन सबै सचेत रहनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले दाङका संरचनामा क्षति पुर्‍याउने कार्य दङालीहरूले नै गरेको दाबी गर्दै तोडफोडमा संलग्नहरू पछुताउने अवस्थामा पुगेको बताए । “धेरै रहस्यहरू बाहिर आएका छन्,” उनले भने, “यो कार्यले समाज र राज्यलाई पछाडि धकेल्यो, दीर्घकालीन असर पार्‍यो ।”

पोखरेलले हालको सरकार संविधान विपरीत बनेको र जनताको रोजाइअनुसार नभएको आरोप पनि लगाए । “यो सरकार न संविधानमा टेकेर बनेको हो, न जनताले रोजेको हो,” उनले भने, “मन्त्रीहरूमा कस्ता पात्र खडा भएका छन् भन्ने देखिँदै गएको छ । सरकारको चरित्र स्पष्ट हुँदैछ ।”

आन्दोलनमा संलग्न भएकाहरूको नैतिक मूल्य पूरा गर्न सरकारले असफल भएको दाबी गर्दै पोखरेलले नयाँ पुस्ताले आवेग र आक्रोशको दुरुपयोग नगरी देशको अस्मिता र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए ।

“समाजलाई व्यवस्थित गर्नुपर्छ, लोकतन्त्रलाई बलियो बनाउनैपर्छ,” उनले भने, “अब राष्ट्रको अस्मिता जोगाउन सबै एकजुट हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !