अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रणका लागि आज बुधवार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ । बैंकले यो प्रक्रिया बोलकबोल प्रणालीमार्फत सञ्चालन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अधिक तरलता कायमै रहेकाले ब्याजदरको स्थायित्व र बजार सन्तुलन कायम राख्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत रकम संकलन गर्दै आएको बताइएको छ ।
आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरमध्ये सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिइने र त्यसैअनुसार आह्वान रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
अनलाइन खरिद प्रणालीमार्फत हुने आजको बोलकबोलको ब्याजदर प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्धारण हुनेछ । सो निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी आगामी २०८३ साल वैशाख ९ गते हुनेछ ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ ।
राष्ट्र बैंकले वित्तीय बजारमा दीर्घकालीन तरलता स्थिति देखिएमा खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । यही प्रावधानअनुसार केन्द्रिय बैंकले पछिल्ला महिनामा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो ।








