ट्रंकलाइन विवाद : संवादमार्फत् समाधान खोज्न मुख्यमन्त्री आचार्यकाे आग्रह
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द हुनु परिप्रेक्ष्यमा वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका छन् । यसले प्रदेशका २४ हजार श्रमिकलाई रोजगारीविहीन बनाएको छ भने स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको प्रदेश सरकारको बुझाइ छ।
मुख्यमन्त्री आचार्यले बुधबार जारी प्रेस विज्ञप्तिमा संघीय सरकारलाई अभिभावकको भूमिकामा रहँदै नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्न आवश्यक भएको उल्लेख गरेका छन् ।
उनले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकको हकहित सुनिश्चित गर्न र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ।









