जनमत पार्टीकी निलम पासवान लुम्बिनी प्रदेश सांसदमा मनोनीत
प्रकाशित मिति : 29 October, 2025 2:58 pm
दाङ । जनमत पार्टीले लुम्बिनी प्रदेश सभाका नयाँ समानुपातिक सांसदका रूपमा निलम पासवानलाई चयन गरेको छ । समानुपातिक सांसद गीता गुरुङ बेलायत बस्न थालेपछि पार्टीले सो पद खाली रहेको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । पार्टीले उनीमाथि सांसद पद छाड्न दवाव दिएपछि गुरुङले राजीनामा दिएकी थिइन् ।
गुरुङ जनजाति क्लस्टरबाट सांसद बनेकी थिइन् भने त्यसपछिको सूचिमा दलित महिला कोटाबाट निलम पासवानको नाम परेको थियो । उनले बुधबार नै निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र ग्रहण गरेकी छन् ।
निर्वाचन आयोगले पासवानको नियुक्तिसम्बन्धी पत्र लुम्बिनी प्रदेश सभामा पठाइसकेको जनाएको छ । तर, प्रदेश सभा सचिवालयमा सो पत्र औपचारिक रूपमा पुग्न बाँकी रहेको स्रोतले जनाएको छ । लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका तीन जना प्रतिनिधि छन्-एक जना प्रत्यक्ष र दुई जना समानुपातिक सांसद।








