पाल्पामा ईभी दुर्घटना हुँदा तीन जनाकाे मृत्यु
प्रकाशित मिति : 29 October, 2025 3:17 pm
बुटवल । नियमित यात्रामा निस्किएको ईभी बुधबार आकस्मिक रूपमा सम्पर्कविहीन भएपछि सुरु गरिएको खोजी कार्य दुःखान्तमा टुंगिएको छ ।
बुटवलबाट तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको ईभी सडकबाट झन्डै २०० मिटर तल खोंचमा फेला परेको हो ।
घटनामा चालक ३१ वर्षिय कमल रायमाझीसहित तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अन्य दुई यात्रुको भने पहिचान खुल्न बाँकी छ । स्थानीयका अनुसार बिहान साढे ११ बजे छहराबाट हिँडेको गाडी दुई घण्टासम्म गन्तव्य नपुगेपछि खोजी सुरु गरिएको थियो ।
इलाका प्रहरी कार्यालय मुझुङ्को टोली घटनास्थल पुगेपछि शव र क्षतिग्रस्त गाडी उद्धार गरी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको कारण र गाडीको प्रविधिक अवस्था बारे थप अनुसन्धान थालेको जनाएको छ ।








