कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि निरन्तर रूपमा बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे पुनः सुरु हुने बैठकमा हिजो उठेका असन्तुष्टि र सुझावहरूलाई अझै विस्तार गर्ने तयारी गरिएको छ।
बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरूले खुलस्त रूपमा नेतृत्वमाथिको असन्तुष्टि र संगठनभित्रको जटिलता उठाउँदै आ–आफ्ना धारणा राखिरहेका छन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा अहिले पनि केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी छ।हिजोको बैठकमा १५ जना सदस्यहरूले बोलेका थिए ।
तीमध्ये मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार बि.क., लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली तथा प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका थिए ।
बैठकमा सहभागीहरूबीच विशेष महाधिवेशनको माग, क्रियाशील सदस्यता विवाद, नेतृत्वको निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका विषयमा केन्द्रित छलफल भइरहेको बुझिएको छ ।
केही नेताहरूले पार्टीभित्र निर्णय लिने शैली ‘उल्लेख्य रूपमा केन्द्रित’ भएको भन्दै नेतृत्वलाई आत्ममूल्यांकन गर्न आग्रह गरेका छन् ।
स्रोतहरूका अनुसार आजको बैठकमा पनि ती विषयलाई नै निरन्तरता दिइनेछ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूका धारणा सुनेपछि पार्टीलाई एकीकृत दिशामा लैजान रोडम्याप प्रस्तुत गर्ने तयारी गरेका छन् ।
कांग्रेसको यो बैठक पछिल्ला वर्षहरूमा देखिएको आन्तरिक असन्तुष्टि र विशेष महाधिवेशनको मागबीच ‘भविष्यको बाटो’ निर्धारण गर्ने निर्णायक अवसरको रूपमा हेरिएको छ ।








