राप्तीका होटलको वर्गीकरण : भालुबाङको पाैवा प्रालि ‘अति उत्तम’मा
तुलबहादुर कवँर मगर
देउखुरी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङले देउखुरी क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूको स्वच्छता, सेवा र खानाको गुणस्तर मूल्यांकन गर्दै वर्गीकरण गरेको छ।
उक्त अनुगमनका क्रममा राप्ती गाउँपालिका–१ भालुबाङस्थित होटल पाैवा प्रालि ‘अति उत्तम’ श्रेणीमा परेकाे छ । डिभिजन कार्यालयका अनुसार अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्टहरूको सरसफाइ, खानाको गुणस्तर, सेवा सुविधा, भान्साको स्वच्छता, कर्मचारीको व्यवहार र समग्र व्यवस्थापनको मूल्यांकन गरी चार तहमा वर्गीकरण गरिएको हो । ती तहहरूमा ‘अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य’ श्रेणी समावेश छन् ।
वर्गीकरणमा राप्ती गाउँपालिका–१ भालुबाङको ‘द नेक्स लेवल रिसोर्ट एण्ड बार’, वडा नं. ३ मसुरियाको ‘छानो कटेज’, वडा नं. ८ मौरीघाटको ‘होटल डिल्स इन’ र वडा नं. ८ पिपरीस्थित ‘थारु दरबार रेष्टुरेन्ट एण्ड लज’ लाई ‘सन्तोषजनक’ श्रेणीमा राखिएको छ। त्यस्तै, पिपरीकै बी.एस.आर. युनिक रेष्टुरेन्ट एण्ड लज ‘सामान्य’ श्रेणीमा परेको छ।
डिभिजन कार्यालयका प्रमुख पदम बरालका अनुसार, मूल्यांकनका क्रममा ९० भन्दा माथि अंक प्राप्त गर्ने व्यवसायलाई तीन तारा सहित ‘अति उत्तम’ हरियो स्टिकर, ८० देखि ८९ अंक ल्याउनेलाई दुई तारा सहित ‘उत्तम’ हरियो स्टिकर, ६५ देखि ७९ अंक ल्याउनेलाई एक तारा सहित ‘सन्तोषजनक’ हरियो स्टिकर र ५० देखि ६४ अंक ल्याउनेलाई ‘सामान्य’ श्रेणीको पहेँलो स्टिकर टाँस गरिने व्यवस्था रहेको बताइयो ।
बरालकाे भनाइमा, “होटल र रेष्टुरेन्ट उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भएकाले स्वच्छता र गुणस्तरमा कुनै पनि लापरबाही स्वीकार्य छैन । सुधार आवश्यक देखिएका स्थानहरूलाई सचेतना र निर्देशन दिइएको छ ।”
खाद्य निरीक्षक सुदर्शन गोसाईले पछिल्लो समयमा व्यवसायीहरू स्वेच्छिक रूपमा मापदण्ड पालनामा जुट्न थालेको जनाउँदै भने, “निरन्तर अनुगमन र व्यवसायीहरूको सक्रियता बढेकाले सेवा स्तरमा सकारात्मक सुधार आएको छ ।”
अनुगमन टोलीमा खाद्य निरीक्षक सुदर्शन गोसाई, कृषि अधिकृत प्रदिप खत्री, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी अधिकारी, भालुबाङ होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रेम खत्री, पूर्व अध्यक्ष महेश बेल्वास तथा पत्रकार र सरोकारवालाहरूको सहभागिता थियो ।
उक्त टोलीले राप्ती गाउँपालिकाद्वारा आयोजित स्थानीय खाद्य परिकार तथा भैलो महोत्सवमा राखिएका परिकारहरूको पनि गुणस्तर मूल्यांकन गरी ती परिकारहरूको ब्रान्डिङका लागि सल्लाह प्रदान गरेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।








