चाैतारीका अध्यक्ष पाण्डेको घरमा आक्रमण गर्ने तीन जना पक्राउ
काठमाडाैँ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेकाे घरमा भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार यो आक्रमण आकस्मिक नभई योजनाबद्ध रूपमा गरिएको हुन सक्ने प्रबल आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजको आधारमा बेशीसहर–८ का आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० का योगेश तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना करिब २० वर्ष उमेरका युवा रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो साँझ नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
घटना बिहीबार राति करिब १२ बजे भएको हो । बेशीसहर बजारस्थित अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार हुँदा घरका झ्यालका सिसा फुटेका थिए भने ८२ वर्षिया हजुरआमा सुतेको कोठा बढी क्षतिग्रस्त भएको बताइन्छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका थिए ।
प्रहरी स्रोतका अनुसार, भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा पाण्डेविरुद्ध उत्तेजनात्मक पोस्टहरू देखिन थालेका थिए। ती पोस्टहरूमा घरमा आक्रमण गर्नेसम्मका आह्वान गरिएका थिए । त्यसपछि गत राति वास्तविक आक्रमण हुनुले घटना पूर्वनियोजित रहेको संकेत गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
जिल्ला प्रहरी प्रमुख रेशम बोहोराका अनुसार, पक्राउ परेकाहरूमाथि प्रारम्भिक बयान लिइँदैछ र घटनाका पछाडि अरू कसको संलग्नता छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
उनका अनुसार, “अहिलेका प्रमाण र सामाजिक सञ्जालमा देखिएका गतिविधि हेर्दा यो घटना पूर्व तयारीसहित गरिएको देखिन्छ। दोषीहरूलाई कानुनी दायरामा ल्याइनेछ ।”
घटनाप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले गम्भीर आपत्ति प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक समाजमा पत्रकारका नेता र परिवारमाथि भएको यस्तो आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार हो ।”
प्रेस चौतारीका प्रतिनिधिहरूले यसलाई पत्रकारिता र स्वतन्त्र आवाजलाई धम्क्याउने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनीहरूले भनेका छन्, “सामाजिक सञ्जालमार्फत लामो समयदेखि भइरहेको नियोजित दुष्प्रचारपछि भएको भौतिक आक्रमणले यो घटनाको गम्भीरता झनै बढाएको छ ।”
प्रहरीले भने अझै अनुसन्धान जारी रहेको जनाउँदै, पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
स्थानीयहरूका अनुसार, रातको समयमा ढुंगा प्रहार हुँदा आसपासका बासिन्दा त्रसित बनेका थिए। घटनापछि बेशीसहर बजारमा सुरक्षा सतर्कता बढाइएको छ।
यसबीच, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूले पनि यस्तो आक्रमणप्रति एक्यवद्धता र विरोध जनाउँदै पत्रकारको सुरक्षामा राज्यको जिम्मेवारी नटार्न आग्रह गरेका छन् ।








