भेरी–बबई डाइभर्सनलाई समस्याग्रस्त हुन नदिन संघीय सरकारको विशेष पहल आवश्यक : मुख्यमन्त्री कडेल
सुर्खेत, कार्तिक १५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समस्याग्रस्त बन्न नदिन संघीय सरकारले तत्काल विशेष पहल गर्नुपर्ने बताएका छन्। पछिल्लो समय आयोजनालाई समस्याग्रस्त आयोजनाको सूचीमा राख्ने तयारी भइरहेको चर्चा बीच शुक्रबार मुख्यमन्त्री कडेल स्वयं आयोजनास्थल बबई पुगेका थिए।
स्थलगत अवलोकन र सरोकारवाला पक्षहरूसँगको छलफलपछि मुख्यमन्त्री कडेलले आयोजनाको हालको कार्यगत प्रगति अपेक्षा अनुसार नबढेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “थपिएको समयमा पनि साठी प्रतिशतको आसपास मात्र काम भएको रहेछ। यो गतिले चार वर्षभित्र आयोजना पूरा हुने कुनै संकेत देखिँदैन।”
मुख्यमन्त्री कडेलका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी–बबई डाइभर्सनमा संघीय सरकारको सक्रियता आवश्यक छ। उनले संघीय सरकारले आवश्यक सहयोग, समन्वय र नीति–गत पहल नगर्दा आयोजनाको गति सुस्त भएको बताए। कडेलले थपे, “यो आयोजना संघीय सरकारको कार्यक्षेत्रमा पर्छ, तर प्रदेश सरकारको पनि चासो र जिम्मेवारी बराबरको छ। यसलाई हालकै अवस्थामा छाड्न मिल्दैन।”
आयोजनास्थलमा भएको छलफलमा आयोजनाका प्रमुख सुरेन्द्र पौडेलले प्राविधिक जनशक्ति अभावका कारण कामको गति प्रभावित भएको जानकारी दिए। उनका अनुसार हाल पनि १० जना उच्च तहका प्राविधिक पदहरू रिक्त छन्, जसले प्रगतिमा प्रत्यक्ष असर पारेको छ। पौडेलले थपे, “हाम्रो अधिकार सीमित भएकाले माथिल्लो निकायबाट विशेष पहल र सहयोग आवश्यक छ।”
वि.सं. २०७१/७२ आर्थिक वर्षमा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र भौतिक प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको छ। आयोजनाको अन्तिम म्याद २०८२ चैत तोकिएको छ भने करिब साढे पाँच महिना मात्र बाँकी छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेमास्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा ल्याउने योजना राखेको छ। यस आयोजनाबाट ४६ दशमलव ६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
आयोजनाको पहिलो चरण अन्तर्गत सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा काम सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुङ ‘ब्रेकथ्रु’ उद्घाटन गराएको थियो। तर दोस्रो चरणका कामहरू पछिल्ला वर्षमा सुस्त गतिमा अघि बढेका छन्।
मुख्यमन्त्री कडेलले संघीय सरकारले तत्काल विशेष योजना बनाई आयोजनाको काम तीव्र गतिमा अघि बढाउने पहल गर्नुपर्नेमा जोड दिए। उनले चाँडै नै संघीय सरकारको ध्यानाकर्षण गराउने पनि प्रतिबद्धता जनाए।








