मन्त्री घिसिङसँग लुङ्ग्री गाउँपालिका अध्यक्षको भेटघाट : लालुवाङ पुल निर्माण कार्य प्रारम्भ गर्न आग्रह
दाङ । लुङ्ग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले शहरी विकास मन्त्री कुलमान घिसिङलाई भेटी लालुवाङ पुल निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट कटौतीको तयारी भइरहेकै बेला उनले मन्त्रालयमा पुगेर स्थानीय आवश्यकता र जनताका पीडा प्रत्यक्षरूपमा राख्दै पुल निर्माणलाई प्राथमिकता दिन आग्रह गरेकाे अध्यक्षकाे सचिवालयले जनाएकाे छ ।
सडक डिभिजन कार्यान्वयन इकाइ बुटवलले मन्त्रालयमा विभिन्न कारण देखाउँदै टेण्डर प्रकृया अघि नबढाएको बताउँदै भन्दै अध्यक्ष थापाले लुम्बिनी सञ्चारसँग भने , “जनताको हितका लागि पुल निर्माणका लागि विनियाेजित बजेट नकाट्न मन्त्रीज्यूसमक्ष अनुराेध गरेका छाैँ । पुल निर्माणमा हुने ढिलाइ अस्वीकार्य छ ।”
उनका अनुसार चालु आर्थिक वर्षमा लालुवाङ बुजेङ मोटरेबल पुल शीर्षकमा ३ करोड र लालुवाङ मोटरेबल पुल शीर्षकमा पनि ३ करोड गरी कुल ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
दुवै योजनालाई एकीकृत गरी बहुवर्षिय स्रोत सहमतिसहित बजेट तथा योजना कार्यान्वयनका लागि औपचारिक अनुरोधपत्र मन्त्रालयमा बुझाइसकिएको उनले जानकारी दिए ।
करिब ७ करोड रुपैयाँ लागत अनुमान भएको पुलको डीपीआर तयार भइसकेको र निर्माण प्रक्रिया तत्काल सुरु गर्न मन्त्री घिसिङले सकारात्मक प्रतिक्रिया दिएको समेत अध्यक्ष थापाले बताए ।
उनका अनुसार अर्थ मन्त्रालयले टुक्रे आयोजना कटौती गर्ने परिपत्र जारी गरे पनि मन्त्री घिसिङले “आवश्यक र जनजीवनसँग जोडिएका आयोजनामा बाधा पुर्याइँदैन” भन्ने अठोट व्यक्त गरेका छन् ।
लालुवाङ खोलामा पुल नहुँदा वर्षौंदेखि स्थानीय बासिन्दा, विद्यार्थी र बिरामीले आवागमनमा ठूलो कठिनाइ भोग्दै आएका छन् । वर्षायाममा जनधनको क्षति समेत भइरहेकाले गाउँपालिकाले यस वर्ष पुल निर्माण कार्यलाई शीर्ष प्राथमिकतामा राखेको जनाएको छ ।
अध्यक्ष थापाले भने, “यो केवल पुलको कुरा होइन, यो हाम्रो जीवनरेखा हो — यसले गाउँलाई विकास, सुरक्षासँगै आशाको पुलमा जोड्नेछ ।”








