१९ मंसिर २०८२, शुक्रबार

रुकुम पूर्वमा अटो दुर्घटना हुँदा जेठानी–देउरानीको मृत्यु, पाँच जना घाइते

प्रकाशित मिति :  2 November, 2025 1:46 pm


दाङ । भुमे गाउँपालिका–१, लुगुमस्थित पञ्चासेमा भएको अटो दुर्घटनामा परी एकाघरका जेठानी देउरानीकाे मृत्यु भएकाे छ । हिजो बेलुका लुगुमबाट बराहातालतर्फ जाँदै गरेको रा.१ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा जेठानी देउरानीको मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी लुगुमकी ३० वर्षिया रेजिना घर्ती मगर र २५ वर्षिया फिसोल्टी घर्ती मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मृतक एकै घरकी जेठानी–देउरानी भएकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेहरूमा २६ वर्षिया प्रतिक्षा बुढामगर, उनका ११ महिनाका छोरा सुभम बुढामगर, २५ वर्षिया ब्युटी पुन मगर, उनकी २३ महिनाकी छोरी समृद्धि पुन मगर र ३ वर्षिय सक्षम घर्ती मगर रहेका छन् । उनीहरू सबैको उपचार जिल्ला अस्पताल रुकुम पूर्वमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि २९ वर्षिय अटो चालक जोते घर्ती मथर फरार रहेका छन् । उनकाे खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

स्थानीयवासीका अनुसार दुर्घटना भएको स्थान साँघुरो र जोखिमपूर्ण छ। रातको समयमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !