विद्युत् आपूर्ति बन्द हुँदा दाङका सिमेन्ट उद्योग ठप्प : उद्याेग सञ्चालनकाे माग गर्दै मजदुरहरु प्रदर्शनमा
दाङ । विद्युत् आपूर्ति बन्द भएपछि दाङका घोराही र सोनापुर सिमेन्ट उद्योग ठप्प भएपछि सयौँ मजदुर आइतबार घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको गेट अगाडि उत्रिएका छन् ।
‘रोजगारी ग्यारेन्टी गर, बन्द उद्योग खोल’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका मजदुरले विद्युत् आपूर्ति रोकिने निर्णयले उनीहरूको जीवन कष्टकर बनेको गुनासो गरेका छन् ।
प्राधिकरणले कार्तिक ४ गते घोराही सिमेन्ट र कार्तिक ७ गते सोनापुर सिमेन्ट उद्योगको लाइन काटेपछि दुवै उद्योगको उत्पादन पूर्णरूपमा बन्द भएको छ ।
घोराही सिमेन्ट उद्योगले दैनिक करिब ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यक सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएपछि ६ सय मजदुर र कर्मचारी कामविहीन बनेका छन् ।
त्यस्तै, सोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा उत्पादन रोकिने बित्तिकै ३ सय ५० जना कर्मचारीलाई काममा नआउन निर्देशन दिइएको छ ।
विद्युत् प्राधिकरणका अनुसार, घोराही सिमेन्ट उद्योगले रु. ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगले रु. २४ करोड ३० लाख बराबरको विद्युत् बक्यौता तिर्न बाँकी छ ।
प्राधिकरणले पटक–पटक भुक्तानी माग्दा पनि उद्योगहरूले रकम नतिरेपछि विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाएको छ तर मजदुरहरूको भनाइमा, ठूलो उद्योग र प्राधिकरणबीचको आर्थिक विवादको भार मजदुरमाथि पर्नु अन्यायपूर्ण छ। मजदुरहरूले समस्या समाधान नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।








