लुम्बिनीमा अन्तर्राष्ट्रिय लगानीको पुनरागमन : ‘क्राउन प्लाजा लुम्बिनी’ सञ्चालन हुँदै
लुम्बिनी । बुद्धभूमि लुम्बिनी अब पुनः अन्तर्राष्ट्रिय आतिथ्य जगतको केन्द्र बन्ने तयारीमा छ । विश्वप्रसिद्ध आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच नयाँ दिल्लीमा सम्पन्न सहकार्य सम्झौतासँगै लुम्बिनीमा पहिलोपटक ‘क्राउन प्लाजा लुम्बिनी’ सञ्चालन हुने भएको छ ।
यस सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै काठमाडौँ बाहिर पहिलो अन्तर्राष्ट्रिय स्तरको प्रिमियम ब्रान्ड होटल सञ्चालन हुँदैछ, जसले देशकै ऐतिहासिक तथा धार्मिक पर्यटन नक्सामा लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
पहिले ‘पवन प्यालेस लुम्बिनी’का नामले चिनिएको होटललाई आइएचजीको मापदण्डअनुसार पुनःरूपान्तरण गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइएको हो ।
होटलमा १४७ कोठा, ७ स्वीट रुम, अत्याधुनिक बहुउद्देश्यीय हल, उच्चस्तरीय रेष्टुराँ, फिटनेस सेन्टर र स्वीमिङ पूल रहनेछन्। साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ ।
लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ किलोमिटर टाढा अवस्थित छ-जसले धार्मिक तथा अवकाश पर्यटन दुबैका लागि आकर्षक पहुँच प्रदान गर्नेछ । कम्पनीले सन् २०२६ सम्म सर्वसाधारणका लागि आइपिओ जारी गर्ने योजना पनि अघि सारेको छ।
अध्यक्ष अमात्यका अनुसार, “यो साझेदारी केवल होटल सञ्चालन होइन, लुम्बिनी र यस क्षेत्रको समग्र पर्यटन अर्थतन्त्रमा नयाँ ऊर्जा हो।” त्यस्तै आइएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, “क्राउन प्लाजा ब्रान्डको पुनः आगमनले नेपालमा अन्तर्राष्ट्रिय आतिथ्यस्तरलाई नयाँ परिभाषा दिनेछ ।”
आइएचजीको ‘क्राउन प्लाजा’ ब्रान्ड पहिले सोल्टी होटल, काठमाडौंमा सञ्चालनमा थियो। सन् २०२१ मा सम्झौता समाप्त भएपछि यो ब्रान्ड केही वर्ष नेपालबाहिर रहँदै आएको थियो ।
अहिले लुम्बिनीमा यसको पुनरागमनसँगै नेपालमा पुनः अन्तर्राष्ट्रिय लगानी र उच्चस्तरीय सेवा उद्योगको सशक्त पुनरुत्थानको संकेत देखिएको छ ।
विश्लेषकहरूको भनाइमा, यस सम्झौताले पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा महत्वपूर्ण योगदान गर्नेछ । विशेषगरी लुम्बिनी–भैरहवा–बुटवल क्षेत्रलाई धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा उचाल्ने सम्भावना यसले थप प्रबल बनाएको छ ।








