निर्वाचन तयारीमा संघ–प्रदेश सहकार्य : मुख्यमन्त्रीहरूको सुझाव-शान्ति सुरक्षा र उद्योग समस्यामा जोड
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच भएको छलफलमा आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी, शान्ति–सुरक्षा र आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित संवाद भएको छ ।
मुख्यमन्त्रीहरूले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न संघीय, प्रदेश र स्थानीय सरकारबीच गहिरो सहकार्य आवश्यक रहेको सुझाव दिए ।
उनीहरूले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए । साथै, खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज तत्काल घोषणा गर्न माग राखे ।
छलफलमा मुख्यमन्त्रीहरूले उद्योगका डेडिकेटेड र ट्रंकलाइन फिडर काट्ने निर्णयले रोजगारी र राजस्वमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई पुनर्विचार गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूको सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक कदम चालिने आश्वासन दिनुभएको बताइएको छ ।








