१९ मंसिर २०८२, शुक्रबार

विजौरी गोलीकाण्डको ३१ वर्ष : यसरी गरिएको थियो एमाले महासचिव पोखरेल लक्षित गोली प्रहार

प्रकाशित मिति :  3 November, 2025 2:04 pm


दाङ । मध्य कार्तिकको पूर्ण दिन । धान काटिसकेका किसानहरू, चुनावी चहलपहल, झण्डा र पोस्टरले रंगिएको गाउँ । २०५१ साल कार्तिक १७ गते दाङको विजौरी रक्तमुच्छेल भएको थियो ।

नेकपा (एमाले) को जुलुसलक्षित चलाइएको गोली, केवल हतियारबाट चलेको थिएन–असहिष्णुताको मुटुबाट चलेको थियो र त्यसको निसानामा थिए एमालेको तर्फबाट दाङ क्षेत्रनम्बर ३ का तत्कालीन उम्मेदवार शंकर पोखरेलको टोली थियो ।

गोलीको दिशामा राजनीति : लक्ष्य को थियो ?
मध्यावधी निर्वाचनको प्रचार अभियान चरममा थियो । बिजौरीको हाडिमेमा प्रशिक्षण सकेर निकालिएको जुलुस उम्मेदवार पोखरेलसहित नेता कार्यकर्ताहरू विजौरी बजार प्रवेश गर्दै थियो ।

हातमा झण्डा, मुखमा नाराहरू–“जनताको सरकार, एमालेको विचार”, तर केही मिनेटमै ती आवाज बारुदको गर्जनमा हराए । घटना सम्झिदै प्रत्येक्षदर्शी शिव थापा भन्छन्, “हामीले टाढाबाट धुवाँ देख्यौं, र त्यसपछि गोलीको आवाज ।”

विजौरीको हाडिमेस्थित उम्मेदवार पोखरेल निवासमा भएको युवा प्रशिक्षणपछि युवासम्मिलित जुलुस निकालिएको स्मरण गर्दै थापा भन्छन्, “प्रशिक्षणमा उम्मेदवार शंकर पोखरेल, शिवराज गौतमलगायतका नेताहरुले प्रशिक्षण दिएपश्चात जुलुस निकालिएको थियो । अग्रपंतिमा उम्मेदवार शंकर पोखरेलसहित शिवराज गौतम, श्रीमणी आचार्य, छविलाल ओलीलगायतका नेताहरु हुनुहुन्थ्यो । उहाँहरुसँगै युवाहरु पनि हुनुहुन्थ्यो । जुलुस मानपुर चोकबाट अगाडि बढेसँगै एकाएक गोली चल्यो ।”

जुलुसको अग्रपंतिलाई लक्षित गरी चलाइएको गोली लागेर नारायण चौधरीको घटनास्थलमै मृत्यु भएका थियो । कृष्ण चौधरी, पुष्प घिमिरे, शिवराज गौतम, श्रीमणि आचार्य, खगेश्वर भण्डारीलगायत पाँच दर्जन बढी युवाहरु घाइते भएका थिए । उपचारका क्रममा वीर हस्पिटलमा कृष्ण चौधरी, पुष्प घिमिरेको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसका केही स्थानीय नेता र समर्थकहरूले हतियारसहित तयार समूह बनाएर आक्रमण गरेको विवरणहरू पछि बाहिर आएका थिए । गोली प्रहारको उद्देश्य एउटै थियो—उम्मेदवार शंकर पोखरेलको टोलीलाई तर्साउने, एमालेको विजयलाई रोक्ने ।

इतिहास मौन हुँदैन । त्यो घटनामा पुष्प घिमिरे, नारायण चौधरी र कृष्ण चौधरीको तत्काल मृत्यु भयो । रगतले भिजेको बजारमा लोकतन्त्रका तीन छायाँ सधैँका लागि अमर भए । दर्जनौं घाइतेहरूका करुण आवाजले त्यो साँझलाई निलो रातमा रूपान्तरण गर्यो ।

शंकर पोखरेल : बाँचेका निसाना
त्यो समय ३३ वर्षिय युवा उम्मेदवार शंकर पोखरेल दाङमा नयाँ ऊर्जा बनिरहेका थिए । उनको लोकप्रियता बढ्दै थियो, विचारमा इस्पात थियो, भाषणमा आगो थियो र कार्यकर्तामा उत्साह । त्यही उत्साह केहीका लागि डर बनेको थियो ।

जनताको बहुदलिय जनवादका व्याख्याताका रुपमा मदन भण्डारीले अगाडि सारेका शंकरलाई रोक्न हरहमेसा प्रयन्तशील थियो कांग्रेसी जमात–जसको उदाहरण हो–बिजौरी गोलीकाण्ड ।

उम्मेदवार पोखरेलको जुलुस आउँदैछ भन्ने खबरमा बजारमा फैलिएको थियो । त्यसपछि हतियार चम्किए । पोखरेललाई युवाहरुले जोगाए—गोलीको त्यो निसाना चुक्यो तर लोकतान्त्रिक संस्कृतिको मुटुमा ठोक्कियो ।

यसरी बनेको थियो आक्रमणको वातावरण


बहुदलिय व्यवस्था प्राप्तिसँगै दाङमा कांग्रेसले एकछत्र राज गर्न चाहन्थ्यो । २०५१ को उपनिर्वाचनमा वैचारिक नेता शंकर पोखरेलको उपस्थितिबाट तर्सिएका कांग्रेसजन उनलाई रोक्न चाहन्थे । प्रचारमा रोक लगाउन चाहन्थे–यसैबाट सुरु भएको थियो राजनीतिक द्वन्द्व ।

कार्तिक १६ गते बिहान एमालेको प्रचार विथोल्न एकहुल कांग्रेसका युवाहरु दुधरास हुँदै आक्कासीतिर गएको समयमा एमालेका शम्भु गौतम (हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य), शिवकुमार आचार्य (हाल एमाले दाङका अध्यक्ष) को टिमले उनीहरुलाई लखेटेको थियो । उक्त दिनको स्मरण गर्दै एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य भन्छन्, “दुधरास क्षेत्रको प्रचारको कमाण्डमा हामीहरु खटिएका थियौं । हाम्रो प्रचार बिथोल्न आएका कांग्रेसका कार्यकर्तालाई हामीले लखेटेका थियौं ।”

एकछत्र राज गर्ने तयारीमा रहेको कांग्रेसको टोली लखेटिएपछि प्रतिशोतमा बिजौरी र दुधरास रहेका एमालेका पार्टी कार्यालय तोडफोड भएको भन्दै शिव थापा भन्छन्, “कांग्रेसका युवाहरुको टोलीले पार्टी कार्यालय तोडफोडसँगै देवि पोखरेल, फर्साराम देवकोटा, पदमप्रसाद रेग्मीलगायतलाई पिटेर घाइते बनाएको थियो । यसैकारण फर्सारामको निधन भएको थियो ।”

रगतका छिटा : तीन शहीद र असंख्य पीडा


तीन शहीद परिवार आज पनि त्यो दिनलाई बिर्सन सकेका छैनन् । पुष्प घिमिरेकी जीवन संगिनीको आवाज काँप्छ, “बिजौरी गोली काण्डले मेरो सिउँदो खोसियो । छोराहरुले बाबाको माया गुमाए तर हामीले न्याय कहिल्यै पाएनौं ।”

नारायण र कृष्णका घरमा अझै पनि सहिदका तस्बिरमा नयाँ मालाहरू सुक्दै जान्छन् । त्यस घटनाका घाइतेहरूमध्ये केहीले शरीरमा आजसम्म छर्रा बोकेका छन् । शारीरिक घाउ पुराना भए पनि मानसिक पीडा कहिल्यै पुरानो हुँदैन ।

उनीहरूका सहयात्री श्रीमणि आचार्य, शिवराज गौतम र मदन केसी छर्रा बोकेर हिड्दै गर्दा यही कारण दीर्घ रोग लाग्दा दिवंगत भए–उनीहरूको मृत्यु पनि त्यो गोलीको लहरै बनेर आएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी बताउँछन् ।

राजनीतिक प्रतिस्पर्धा कि असहिष्णुताको विस्फोट ?
२०५१ सालको मध्यावधि चुनाव केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा थिएन, त्यो समय नेपाली राजनीति दुई ध्रुवमा विभाजित भइसकेको थियो । प्रजातन्त्र त नूतन थियो तर प्रजातान्त्रिक आचरण अझै बालक अवस्थामै थियो ।

राजनीतिक विश्लेषक भन्छन्, “विजौरी हत्याकाण्डले विचारको युद्ध संवादबाट होइन, गोलीबाट जित्ने संस्कार जन्मिएको थियो । जो असफल सिद्ध भयो ।” त्यो संस्कारले देशलाई दशकौँसम्म हिंसाको चपेटामा राख्यो ।

३१ वर्षपछि पनि चहराइरहेको घाउ


बिजौरी गोलीकाण्ड भएको आज ३१ वर्ष बितिसक्यो तर शहीद परिवारका आँखाबाट बगेका आँसु अझै सुक्न सकेका छैनन् । घटनाको सत्यता अझै अधुरो छ, दोषीहरू इतिहासको छायाँमा हराएका छन् । अहिले विजौरी बजार र आशपासका क्षेत्रमा शहीद प्रतिक्षालय निर्माण गरिएका छन्—जोे केवल ढुंगाको संरचना नभई, चेतनाको प्रतीकका रुपमा उभिएको स्थानीय गोकर्ण पौडेल बताउँछन् ।

पौडेल भन्छन्, “शहीद प्रतिक्षालयले सदैव बिजौरी गोलीकाण्डलाई सम्झाइरहेका छन् । न्यायको माग गरिरहेका छन् ।” आजको दिनलाई स्मरण नभई चेतावनीको दिनका रुपमा लिनुपर्ने उनी बताउँछन् ।

हरेक वर्ष आज अर्थात् कार्तिक १७ गते दीप बालिन्छ । त्यो दीप श्रद्धाञ्जली मात्रै होइन, चेतावनी हो—कुनै पनि विचार, कुनै पनि दल, कुनै पनि मत त्यति ठूलो होइन कि त्यसको नाममा ज्यान हरण जायज ठहरियोस् ।

शहीद पुष्प घिमिरे, नारायण चौधरी, कृष्ण चौधरी, श्रीमणी आचार्य र शिवराज गौतम, फर्साराम देवकोटा—यी नाम केवल इतिहासका पाना होइनन्, यी लोकतन्त्रको नैतिक कम्पास हुन्, जो हामीलाई सम्झाउँछन्—“विचारलाई होइन, विवेकलाई जिताऔँ ।”

अन्त्यमा : इतिहासको मौन प्रतिवाद
आज शंकर पोखरेल देशका प्रमुख राजनीतिक नेतामध्ये पछनर्् तर विजौरीको त्यो कालो दिन अझै पनि उनको राजनीतिक यात्राको अविभाज्य अध्याय बनेर बाँचेको छ । त्यो गोलीले केवल कार्यकर्ता मारेन, यसले सहिष्णुताको सीमारेखा पनि पार ग¥यो ।

विजौरी हत्याकाण्ड आज पनि प्रश्न गर्छ—के हामीले लोकतन्त्र सिक्यौँ ? वा अझै पनि हतियारले विचारलाई हराउने संस्कारमै बाँचेका छौँ ? ३१ वर्षपछि पनि उत्तर खोजिरहेछ—त्यो गोली किन चलाइयो ? को लक्षित थियो ? र कहिले निको हुन्छ लोकतन्त्रको यो घाउ ?

हार्दिक श्रद्धाञ्जली अमर शहीदहरूलाई—पुष्प घिमिरे, नारायण चौधरी, कृष्ण चौधरी, श्रीमणी आचार्य, फर्साराम देवकोटा र शिवराज गौतम । जसको बलिदानले हामीलाई सम्झाइरहेको छ—लोकतन्त्र केवल मतपत्रले होइन, सहिष्णुताले बाँच्दछ ।



प्रतिक्रिया दिनुहोस !