१९ मंसिर २०८२, शुक्रबार

बर्दियाका किसान बगरखेतीबाट समृद्ध : मासिक एक लाखसम्म आम्दानी

प्रकाशित मिति :  4 November, 2025 11:25 am


बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ का किसानले बबई नदीको किनारमा रहेको बगर जमिनलाई खेतीयोग्य बनाउँदै उल्लेखनीय आम्दानी गर्न थालेका छन् । पहिले निष्क्रिय रहेको बगरमा खेती गरेपछि यहाँका किसानको आर्थिक जीवनस्तर परिवर्तन भएको छ ।

बालापुरस्थित बबई नदीको किनारमा करिब २५ बिगाहा क्षेत्रफलमा २७ परिवारले बगरखेती गर्दै आएका छन्। उनीहरूले तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् भने हिउँदमा खरबुजा, लौका र करेलाको उत्पादन गर्छन्।
स्थानीय किसान गोपीलाल चौधरीले पाँच वर्षदेखि बगरखेती गर्दै वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए। उनका अनुसार विगतमा मजदुरी गरेर जीविका चलाउने परिवार अहिले दुई बिगाहामा मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न सफल भएको छ।

“बगरखेतीले हाम्रो जीवन बदलेको छ। अहिले छोराछोरीको पढाइदेखि घरखर्च र भविष्यका लागि बचत गर्न पनि सक्षम भएका छौं,” चौधरीले भने।

जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत ‘प्राक्टिकल एक्शन’ नामक संस्थाले बगरखेतीका लागि बीउबिजन, कृषि विज्ञमार्फत परामर्श र सिंचाइका लागि प्राविधिक सहयोग गर्दै आएको छ। समय समयमा हुने तालिम र बीउ सहयोगले किसानहरू खेतीतर्फ अझ उत्साहित भएका छन्।

यस्तै, बगरखेतीको प्रभाव अन्य जिल्लामा पनि देखिन थालेको छ। कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगरखेतीलाई रोजेका छन्। धनगढी–१९ पूर्वी ललितपुरका २१ किसानले मोहना नदी किनारमा खेती गरिरहेका छन् भने टीकापुर–८ वनगाउँका ८ किसानले पनि बगरखेतीबाट आम्दानी बढाएको बताएका छन्।

कर्णाली नदी किनारका किसान रमेश चौधरीका अनुसार, संस्थाको तालिमपछि खेती सहज र उत्पादक बन्न पुगेको छ। “पहिलेको भन्दा आम्दानी दोब्बर भएको छ। पढाइ, दैनिकी खर्च र केही बचत पनि गर्न पाएका छौं,” उनले भने।

बगरखेती विस्तारसँगै बर्दिया, कैलाली र आसपासका जिल्लामा किसानको आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको कृषिविद्हरूको निष्कर्ष छ।



प्रतिक्रिया दिनुहोस !