१९ मंसिर २०८२, शुक्रबार

बुटवलकाे निर्वाणा होटलमा गाेली चल्याे : सुरक्षागार्ड घाइते, अपराधी समूह फरार

प्रकाशित मिति :  4 November, 2025 1:37 pm


भैरहवा । रुपन्देहीको भैरहवास्थित पाँचतारे होटेल निर्वाणा लक्जरी इन्टरनेसनल सोमबार मध्यरात आकस्मिक रूपमा अशान्त बनेको छ ।

होटलको गेट अगाडि सामान्य विवादबाट सुरु भएको झडप केही मिनेटमै गोलीकाण्डमा परिणत हुँदा एक सुरक्षागार्ड घाइते भएका छन् ।

प्रहरीका अनुसार, केही व्यक्तिहरूबीच बाहिर वाकयुद्ध चलेपछि एउटा समूह जबर्जस्ती होटल परिसरभित्र प्रवेश गर्न खोज्दै थियो । त्यतिबेला ड्युटीमा रहेका सुरक्षागार्ड मीनबहादुर परियारले रोक्न खोज्दा तीमध्ये एक जनाले अचानक गोली प्रहार गरेका थिए ।

गोली परेपछि बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षिय परियारको तिघ्रामा चोट लागेको थियो । उनलाई तत्कालत भैरहवाको भीम अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ ।

घटनापछि गोली चलाउने व्यक्ति र उनका साथीसँगै फरार रहेका छन् । रुपन्देही प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्दै होटल परिसर र वरपरको फुटेजको विश्लेषण सुरु गरेको जनाएको छ ।

प्रहरीका एक अधिकारीले भने, “यो घटना सामान्य विवाद वा योजनाबद्ध आपराधिक गतिविधि कुन हो भन्नेबारे दुवै कोणबाट अनुसन्धान भइरहेको छ।”

घटनाले भैरहवाको पर्यटकीय क्षेत्रको सुरक्षाबारे पुनः प्रश्न उठाएको छ । होटल व्यवसायीहरूले रातको समयमा सुरक्षा निगरानी बलियो बनाउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

स्थानीयले भने, “भैरहवा पर्यटकीय केन्द्र हो, यहाँ यस्तो घटना हुनु चिन्ताजनक हो अपराधीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछाैँ ।”



प्रतिक्रिया दिनुहोस !