१९ मंसिर २०८२, शुक्रबार

‘जेन–जी विद्रोह’पछि देशभक्त युवाको चेतावनी : देश पुनः अराजकतातिर फस्ने खतरा

प्रकाशित मिति :  4 November, 2025 8:11 pm


काठमाडाैँ । ‘जेन–जी विद्रोह’ पछिको बदलिँदो राजनीतिक वातावरणमा देशभक्त युवा अभियान नेपालले देश निर्णायक मोडमा पुगेको बताउँदै नयाँ राजनीतिक संस्कार निर्माणको आह्वान गरेको छ ।

मंगलबार काठमाडौँस्थित रिपोर्टर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत् अभियानले अहिलेको राजनीतिक अस्थिरता र सामाजिक असन्तुलनको मूल कारण युवापुस्ताको निराशा भएको निष्कर्ष निकाल्दै यसको दीर्घकालीन समाधानका लागि ठोस सुझाव सार्वजनिक गरेको हो ।

अभियानले आफ्नो धारणा सार्वजनिक गर्दै सर्वपक्षीय राष्ट्रिय सभाको गठन, चुनाव प्रणालीमा सुधार, शासकीय स्वरूपमा पुनर्विचार, र प्रगतिशील एजेन्डासहित नयाँ पुस्तालाई समेट्ने राजनीतिक मोर्चा निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ । संगठनका अनुसार, अबको निकास सोच, दृष्टिकोण र नीतिमा नवप्रवर्तन गर्न सक्ने नेतृत्वबाट मात्रै सम्भव छ ।

देशभक्त युवा अभियानका संयोजक प्रकाश शाहीले पुरानो पुस्ताको राजनीतिक कार्यशैलीले जनतामा विश्वास गुमाएको बताउँदै अब विचार र मूल्यका आधारमा सौहार्दपूर्ण प्रतिस्पर्धा गर्ने संस्कारको सुरुवात गर्नुपर्ने बताए ।

‘‘जेन–जी आन्दोलनले पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिएको छ र यसलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्छ’‘, उनले भने । उनले देशमा युवाको आवाजलाई सुनिने र निर्णय प्रक्रियामा सहभागी गराउने संयन्त्रको अभाव रहेको टिप्पणी पनि गरे ।

कार्यक्रममा अभियानका सदस्य दिनेश विक्रम चन्दले राष्ट्रिय स्वाभिमान र मौलिक अर्थतन्त्रको निर्माणमा जोड दिँदै विदेशी निर्भरता घटाउनुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार, नेपालको अर्थनीति विदेशी सिफारिस र दबाबमा चल्ने प्रवृत्तिबाट मुक्त नभएसम्म आत्मनिर्भर अर्थतन्त्रको सपना अधुरै रहन्छ ।

त्यस्तै, सुमनसिंह पौडेलले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलन सुदृढ पार्न आवश्यक भएको बताए । उनका अनुसार, विश्व शक्तिहरूबीचको प्रतिस्पर्धाको नयाँ चरणमा नेपालले समान दूरीको नीति अपनाउँदै राष्ट्रिय हितलाई प्राथमिकता दिनु जरुरी छ।

अभियानका अन्य सदस्यहरू लक्ष्मण पौडेल, अटल पाण्डे र प्रकाश डुम्रेलले समेत युवापुस्ताको भूमिकालाई संस्थागत गर्न राज्य संयन्त्रले तत्काल पहल गर्नुपर्ने जोड दिए ।

उनीहरूले हालको राजनीतिक संरचनाले युवा पुस्तालाई निर्णय प्रक्रिया र नेतृत्व तहबाट पन्छ्याउने प्रवृत्ति देखिएकाले यसले लोकतन्त्रको भविष्यलाई कमजोर बनाउन सक्ने चेतावनी पनि दिए ।

अभियानले जारी गरेको वक्तव्यमा ‘जेन–जी आन्दोलन’लाई केवल आन्दोलन होइन, चेतावनीका रूपमा लिनुपर्ने भनिएको छ। युवापुस्ताको आवाजलाई बेवास्ता गर्नेलाई इतिहासले माफ नगर्ने उल्लेख गर्दै अभियानले राज्य, राजनीतिक दल र नीति निर्माताहरूमाथि गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेको छ ।

वक्तव्यमा विचारका आधारमा सौहार्दपूर्ण प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, राष्ट्रिय सुरक्षाको सुदृढीकरण र कूटनीतिक सन्तुलनमा जोड दिइएको छ ।

साथै, प्रगतिशील एजेन्डा लिएर युवापुस्तालाई एकताबद्ध गर्ने राजनीतिक प्लेटफर्म निर्माणका लागि सबै पक्षबीच संवादको आवश्यकता औंल्याइएको छ ।

देशभक्त युवा अभियानले अन्ततः भन्यो, “अबको राजनीतिमा उमेर होइन, विचार र दृष्टिकोण निर्णायक हुनेछन्। युवा पुस्ताले यदि जिम्मेवारीपूर्वक भूमिका नलिए भने देश पुनः अराजकताको चक्रमा फस्न सक्छ ।”

अभियानको निष्कर्षमा नयाँ पुस्ता र पुरानो नेतृत्वबीच विचारको सहकार्य नै देशलाई स्थायित्व, विकास र न्यायपूर्ण व्यवस्थातर्फ लैजाने प्रमुख मार्गका रूपमा प्रस्तुत गरिएको छ।



प्रतिक्रिया दिनुहोस !