१९ मंसिर २०८२, शुक्रबार

मुख्यमन्त्री आचार्यकाे घरमा आगजनी गर्ने तीन युवा पक्राउ

प्रकाशित मिति :  5 November, 2025 8:04 pm


देउखुरी । जेन–जी प्रदर्शनकाे समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकाे अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडकाे घटनामा संलग्न भएको आरोपमा प्रहरीले सन्धिखर्कबाट तीन युवाहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भूमिकास्थान नगरपालिका–१ का गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानालाई बुधबार पक्राउ गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

उनीहरूलाई अर्घाखाँची जिल्ला अदालतको आदेशपछि आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरिएको थियो । सो क्रममा घरभित्रका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्यले सो घटनामा संलग्न भन्दै असोज अन्त्यतिर ११ जनाविरुद्ध जिल्ला अदालतमा जाहेरी दर्ता गरेकी थिइन् ।

जाहेरीअनुसार, आगलागी र तोडफोडका क्रममा करिब ३५ लाख ५३ हजार रुपैयाँ मूल्यका घरभित्रका सामग्री जलेर नष्ट भएका र घरको संरचनामा ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।

आचार्यले जाहेरीमा पक्राउ परेका खनाल, पौडेल र ढुंगानालाई घटनाका ‘मुख्य योजनाकार’ भनेर उल्लेख गरेकी छिन् । साथै, उनले माधव भण्डारी, मदन परियार, विनोद मगर, कमल घिमिरे, कुशल चुँदाली, अर्जुन चुँदाली, सुन्दर भारती र विशाल कँडेललगायत आठ जनालाई पनि तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै उजुरी गरेकी छिन् । ती व्यक्तिहरू अहिले फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते अर्घाखाँचीमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चामा पनि तोडफोड र आगजनी गरिएको थियो । सोही दिनको तनावपछि अर्घाखाँचीमा लामो समय राजनीतिक असन्तोष र सुरक्षात्मक सतर्कता कायम गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !