एमाले रुकुमपूर्वद्वारा जनपरिचालनसहित महाधिवेशन तयारीको निर्णय
देउखुरी । आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेकपा (एमाले) रुकुमपूर्वले संगठन सुदृढीकरण र जनपरिचालन अभियानलाई तीव्रता दिने घोषणा गरेको छ ।
जिल्ला अध्यक्ष लिलामणि गौतमको अध्यक्षतामा रुकुमकोटमा सम्पन्न सातौं जिल्ला सचिवालय बैठकले पार्टीलाई गाउँ–गाउँमा पुनः सक्रिय बनाउने रणनीतिका साथ महाधिवेशन तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कमिटीको दशौं बैठकबाट तय गरिएका नीतिअनुसार “प्रतिगमनको विरोध र संवैधानिक स्थायित्व” लाई मुख्य राजनीतिक एजेन्डा बनाउने बताएको छ ।
निर्णयअनुसार कार्तिक २२ गते जिल्लाका ३१ वटै वडामा वडा–स्तरीय जनभेला, कार्तिक २५ गते सिस्ने, भूमे र पुथा उत्तरगंगाका विभिन्न स्थानमा पालिका–स्तरीय सभा, र कार्तिक २९ गते रुकुमकोटमा जिल्लास्तरीय विशाल जनसभा आयोजना गरिनेछ ।
अध्यक्ष गौतमका अनुसार यी कार्यक्रमहरूले आगामी मंसिरमा काठमाडौंमा हुने एघारौं राष्ट्रिय महाधिवेशनको तयारीलाई जनस्तरमा सशक्त बनाउनेछन् ।
उनले मंसिर १३ गते हुने प्रतिनिधि छनोट प्रक्रियालाई पनि “न्यायोचित, नवीकरणमा आधारित र कार्यसक्रियतामुखी” बनाइने बताए ।
बैठकमा पार्टीका विभिन्न तहका नेताहरूले संगठनका चुनौती र अवसरबारे धारणा राखे । कार्यालय सचिव हरिहर पौडेल, गाउँ कमिटी अध्यक्षहरू देविलाल गिरी, धनकुमार पुन र लक्ष्मण वुढामगरले आफ्ना क्षेत्रगत प्रतिवेदन प्रस्तुत गरे भने केन्द्रीय सल्लाहकार परिषदका सदस्य नन्दलाल शर्मा र चुडामणि गौतमले वर्तमान राजनीतिक परिस्थिति र संगठनात्मक जिम्मेवारीबारे सुझाव दिए ।
बैठकले नयाँ नेतृत्व समावेशीकरणतर्फ पनि कदम चालेको छ । कलबहादुर खड्का, विष्णु देवकोटा, चन्द्रकला खड्का र विजुली वुढालाई जिल्ला सचिवालयमा मनोनीत गर्दै संगठनमा नयाँ ऊर्जाको अपेक्षा गरिएको छ ।
अध्यक्ष गौतमले बैठकपछि भने, “हामी महाधिवेशन तयारी मात्र होइन, संगठनको पुनर्जागरणको यात्रामा छौं। स्थानीयस्तरमा जनसंपर्क र सदस्यता नवीकरणले एमालेलाई अझ जनमुखी बनाउन सहयोग पुर्याउनेछ ।”








