राप्तीमा बजेट कार्यनयनका लागि स्थलगत अवलोकन
देउखुरी । दाङको राप्ती गाउँपालिकाले स्थानीय पर्यटन र धार्मिक स्थलको स्तरोन्नतिलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन प्रक्रियामा गति दिएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त करिब डेढ करोड रुपैयाँ बराबरको बजेट अब प्रत्यक्षरूपमा स्थानीय विकासमा रुपान्तरण हुने चरणमा पुगेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा लुम्बिनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालय, कोहलपुरमार्फत प्राप्त बजेटको स्थलगत अवलोकन गरिएको हो । यस क्रममा स्थानीय जनप्रतिनिधि, इन्जिनियर र नागरिकको सक्रिय सहभागिता देखियो ।
कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेका अनुसार १ करोड ४६ लाख ५० हजार रुपैयाँको विनियोजनमध्ये २० प्रतिशत बजेट कटौती भएर आएको भए पनि बाँकी रकम प्रभावकारी रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
इन्जिनियर राजकुमार निरौलाले धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नतिका लागि आवश्यक प्राविधिक प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार कार्यान्वयन पश्चात राप्तीका ऐतिहासिक र धार्मिक स्थलमा नयाँ आकर्षण थपिँदै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।
स्थानीयवासीहरूले समेत यो पहलले गाउँको पहिचान र आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष विष्टका शब्दमा, “स्थानीय सम्पदालाई जोगाउँदै पर्यटन विकास गर्ने हाम्रो लक्ष्य हो, जसले रोजगारी र गाउँको प्रतिष्ठा दुवै बढाउनेछ।”








