१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशबाट निर्जीवन बीमामा १ अर्ब १० करोड संकलन

प्रकाशित मिति :  6 November, 2025 12:50 pm


देउखुरी । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले लुम्बिनी प्रदेशमा निर्जीवन बीमाको कारोबार उल्लेख्य रूपमा विस्तार हुँदै गएको संकेत गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) अवधिमा लुम्बिनी प्रदेशका बीमा कम्पनीहरूले १ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

यो आँकडा प्रदेशभरका बीमित संख्याको वृद्धि, सवारी साधन बीमा र व्यवसायिक जोखिम बीमाप्रतिको जनचासो बढ्दो अवस्थामा रहेको प्रमाणका रूपमा लिइएको छ ।

प्रदेशगत बीमा कारोबारमा दाेस्राे स्थान

देशभरका सातै प्रदेशमध्ये लुम्बिनी प्रदेश बीमाशुल्क संकलनका हिसाबले दाेस्रो स्थानमा रहेको छ । बीमा प्राधिकरणका अनुसार बाग्मती प्रदेशबाट सर्वाधिक ८ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट १ अर्ब १० करोड ४६ लाख रुपैयाँ, कोशी प्रदेशबाट १ अर्ब ४ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरका छन् ।

त्यसैगरी मधेश प्रदेशबाट ८५ करोड २३ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ६५ करोड १० लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट २८ करोड ९८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम ११ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ।

औद्योगिक तथा यातायात बीमामा मुख्य योगदान

बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज र तौलिहवा क्षेत्रका बीमा शाखाहरूले औद्योगिक, व्यवसायिक र सवारी साधन बीमामा उच्च कारोबार देखाएका छन् ।

विशेष गरी निर्माणाधीन परियोजना, होटल व्यवसाय र मालवाहक यातायातका बीमाले संकलन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेका बीमा प्रतिनिधिहरू बताउँछन् ।

नेपाल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, एनएलजी, सिद्धार्थ र शिखर इन्स्योरेन्सलगायतका कम्पनीहरूले प्रदेशका प्रमुख व्यापारिक सहरहरूमा शाखा विस्तार र ग्राहक सचेतना अभियान सञ्चालन गरेका छन् ।

बीमा बजार विस्तारको सम्भावना

लुम्बिनी प्रदेशका आर्थिक गतिविधि, औद्योगिक लगानी र सीमावर्ती व्यापारिक कारोबारले बीमा बजारमा ठूलो सम्भावना रहेको विश्लेषकहरूको मत छ ।

नेपाल बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार प्रदेशका ग्रामीण क्षेत्रसम्म बीमा पहुँच पुर्‍याउन सके वार्षिक संकलन अझै दोब्बर हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेशमा निर्जीवन बीमाको तीव्र वृद्धि केवल औपचारिक तथ्याङ्क होइन, प्रदेशको आर्थिक गतिविधि र नागरिक सचेतनामा आएको नयाँ अध्यायको संकेत हो ।

बीमा कम्पनीहरूले यही प्रवृत्तिलाई निरन्तरता दिन सके, लुम्बिनी निकट भविष्यमा बीमा बजारको सशक्त केन्द्रका रूपमा उदाउने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !