राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दति निक्षेपमा लगानी गर्ने तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमार्फत लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकका अनुसार उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा लगानी गरिने छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेप गर्ने तयारी गरेको छ । यो लगानी २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्मका लागि ३६६ दिन अवधिको हुने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले केही सर्तहरू पूरा गर्नुपर्ने छन् । ती सर्तहरूमा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा भित्र भएको हुनुपर्ने, कर्जा–निक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र पछिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने छन् ।
त्यसैगरी, कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा ती व्यक्ति सो पदमा कायम नरहेको वा जरिबाना भुक्तान गरेको मितिले ६ महिना पूरा भएको हुनुपर्ने सर्त पनि राखिएको छ ।
राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाहरूका हकमा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा घोषणा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने सर्त पनि केन्द्रीय बैंकले तोकेको छ ।
उक्त मुद्दति निक्षेपका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी कात्तिक २३ गते भित्रै ब्याजदर प्रस्ताव राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाइएको छ ।








