१९ मंसिर २०८२, शुक्रबार
पूर्व–पश्चिम राजमार्ग विस्तार

सडक विस्तार सुस्त बन्दै : बुटवल–चनौटा खण्डमा १२ प्रतिशत मात्र प्रगति

प्रकाशित मिति :  8 November, 2025 8:25 am


दाङ । देशको यातायात नशा मानिएको पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा लुम्बिनी प्रदेशभित्रका प्रमुख सडकखण्डमा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेका छन् । दाउन्ने–बुटवल, बुटवल–चनौटा (गोरुसिङ्गे) काे काम अत्यन्तै सुस्त बनेकाे छ भने चनौटा–शिवखोला सडकखण्डकाे सुरु नै हुन सकेका छैन ।

सडक विभागका अनुसार बुटवल–गोरुसिङ्गे–चनौटा खण्डको ठेक्का सम्झौता आर्थिक वर्ष २०८०/८१ मा भएको थियो । आर्थिक वर्ष २०८४/८५ भित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति १२.३३ प्रतिशत र वित्तीय प्रगति ८.७५ प्रतिशत मात्र पुगेको छ ।

कुल लागत १८ अर्ब रुपैयाँ रहेको यो आयोजना विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढिरहेको हो । यसैगरी दाउन्ने–बुटवल खण्ड (नारायणगढ–बुटवल परियोजनाअन्तर्गत) को विस्तार कार्य पनि ढिलो गतिमा अघि बढेको छ ।

२०७५ पुस ४ गतेदेखि सुरु गरिएको यो आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६९.१८ प्रतिशत र वित्तीय प्रगति ६२.४० प्रतिशत पुगेको छ ।

सुरुमा १६ अर्ब ९९ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले बढेर १७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । म्याद २०८३ साउन ७ गते सम्म थप गरिएको यो आयोजना एसियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालन भइरहेको छ ।

त्यस्तै, चनौटा–शिवखोला खण्डको विस्तार कार्य भने अमेरिकी सहयोग परियोजना एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) अन्तर्गत अघि बढाइएको छ ।

करिब ४० किलोमिटर लामो यो खण्ड कपिलवस्तु–दाङ सडक विस्तार योजनामा पर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालका अनुसार, एमसिसी परियोजनाअन्तर्गतको यो खण्डमा हाल आवश्यक तयारी र ठेक्का प्रक्रियाहरू पूरा गर्ने चरणमा काम भइरहेको छ ।

यी तीनै खण्ड लुम्बिनी प्रदेशका मुख्य यातायात नसा हुन् । राजमार्ग विस्तार सम्पन्न भएपछि प्रदेशका प्रमुख सहरहरू नारायणगढ, बुटवल, चन्द्रौटा, लमही र कोहलपुर—बीचको यात्रा समय छोटिने, यातायात सुरक्षामा सुधार आउने र व्यापारिक आवागमनमा सहजता बढ्ने अपेक्षा गरिएको छ ।

२०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु भए पनि कुनै पनि खण्डमा निर्माण कार्य सम्पन्न हुन नसक्नुले विस्तार योजनाको प्रभावकारिता माथि प्रश्न उठेको छ । निर्माण ढिलाइका कारण स्थानीय बासिन्दा धूलो–धुवाँ, सडक अवरोध र दुर्घटनाको जोखिम झेल्न बाध्य बनेका छन् ।

मन्त्रालयका अनुसार राजमार्ग विस्तार सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा कम सवारी चाप भएका क्षेत्रमा चार लेनको मापदण्डमा भइरहेको छ ।

सडक विभागले सबै ठेकेदार कम्पनीलाई काम तीव्र पार्न निर्देशन दिएको छ । विस्तार कार्य समयमै पूरा भएमा तराई–मधेशसहित देशका आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !