मोटरसाइकल दुर्घटनामा कपिलवस्तुमा प्रहरी सहायक हवल्दारकाे मृत्यु
कपिलवस्तु । जनताको सुरक्षाका लागि खटिने प्रहरी आफैं सडक दुर्घटनाको सिकार बनेका छन्। लुम्बिनी–तौलिहवा सडकखण्डको लवनी नजिक भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दार राम विलास यादवको मृत्यु भएको हो ।
रूपन्देहीको रोहणी गाउँपालिका–७ निवासी यादव हाल कपिलवस्तुस्थित प्रहरी चौकी कोपवामा कार्यरत थिए । ड्युटी सम्बन्धी कार्यका क्रममा सवारी चलाइरहेका बेला आइतबार बिहान लवनीस्थित शुद्धोधन गाउँपालिका–३ गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा उनले ज्यान गुमाएका हुन् ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको छ ।
डीएसपी सिंहले बताएअनुसार मृतक यादव आफ्नो नियमित जिम्मेवारी निर्वाह गर्दै गइरहेका बेला दुर्घटनामा परेका हुन् । “कर्तव्यपालनकै क्रममा ज्यान गुमाउनु दुःखद विषय हो,” उनले भने, “उनको योगदानलाई प्रहरी संगठनले सधैं स्मरण गर्नेछ।”
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। संगठनले आवश्यक सहयोग र समन्वयका लागि पहल गर्ने जनाएको छ।
स्थानीयवासीका अनुसार लुम्बिनी–तौलिहवा सडकखण्डको सो भागमा गतिलो सडक संरचना र सावधानी नअपनाउने प्रवृत्तिका कारण दुर्घटना हुने क्रम बढ्दो छ। उनीहरूले सुरक्षा निकाय र स्थानीय सरकारसँग सडकमा चेतनामूलक सन्देश र नियमित ट्राफिक निगरानी बढाउन माग गरेका छन्।








