राप्ती गाउँपालिकाबाट कृषकलाई २ सय क्विन्टल गहुँको बीउ वितरण
देउखुरी । दाङको राप्ती गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा २ सय ३ क्विन्टल ४० केजी उन्नत जातका गहुँका बीउ वितरण गरेको छ ।
कृषि उत्पादनमा वृद्धि र कृषकहरूको आर्थिक भार घटाउने उद्देश्यले पालिकाले बिजय, बाणगंगा र गौतम जातका बीउ वितरण गरेको हो ।
कृषि शाखा प्रमुख बरसाती गडरियाका अनुसार बिजय जातको १ सय ६१ क्विन्टल ६० केजी, बाणगंगा जातको १९ क्विन्टल ४० केजी र गौतम जातको २२ क्विन्टल ४० केजी बीउ कृषकहरूलाई वितरण गरिएको छ ।
प्रति किलोग्राम ७४ रुपैयाँ पर्ने बीउलाई पालिकाले ५० प्रतिशत अनुदान पश्चात ३७ रुपैयाँमा कृषकलाई उपलब्ध गराएको हो ।
यसअघि गाउँपालिकाले बीउ माग सम्बन्धी सूचना जारी गरेपछि कृषकहरूले आफ्ना-आफ्ना वडामार्फत आवश्यक परिमाण टिपाएका थिए। सोही मागको आधारमा बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ।
गहुँका यी उन्नत बीउहरू युनिभर्सल सिड कम्पनी, भैरहवाबाट खरिद गरी वितरण गरिएको हो। राप्ती गाउँपालिकाले हरेक वर्ष कृषकहरूलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आएको छ।
कृषि उत्पादनलाई दिगो र प्रभावकारी बनाउन आगामी दिनमा पनि यो कार्यक्रम निरन्तर जारी राखिने गाउँपालिकाले जनाएको छ ।








