ऊर्जा मन्त्री घिसिङ र सुमना श्रेष्ठबीच नयाँ दल गठनबारे छलफल
काठमाडाैँ । ऊर्जा मन्त्री कुलमान घिसिङले मंगलबार बिहान आफ्नै निवासमा सुमना श्रेष्ठ र जेन्जी प्रतिनिधि सुदन गुरुङसँग नयाँ दल गठनबारे महत्वपूर्ण छलफल गरेका छन् ।
घिसिङकै नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारी अघि बढ्दै आएको भए पनि मन्त्री पदमा रहेकाले उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि मात्रै औपचारिक रूपमा दलमा सहभागी हुने बताउँदै आएका छन् ।
यसअघि पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजनमा ‘उज्यालो नेपाल’ नामका दलको दर्ता प्रक्रिया अघि बढाइएको थियो। तर सुमना श्रेष्ठले सामूहिक नेतृत्वको प्रस्ताव अघि सारेकी थिइन्। उक्त प्रस्ताव अस्वीकार भएपछि उनले सोमबार दल दर्ता प्रक्रियाबाट बाहिरिने घोषणा गरेकी थिइन्।
श्रेष्ठको निर्णयपछि घिसिङले पुनः श्रेष्ठ र सुदन गुरुङलाई भेटेर दलको भविष्यबारे विस्तृत छलफल गरेका हुन्। घिसिङ निकट जीतराम वाइवाका अनुसार, मन्त्रीले अब दल दर्ता स्वयं गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय अझै बाँकी छ।
यता, जेन्जीका प्रतिनिधि सुदन गुरुङले नयाँ दलमा समावेश गरिनुपर्ने आफ्ना ६ प्रतिनिधिको नाम पहिल्यै बुझाइसकेका छन्।
निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ। त्यसैले ‘उज्यालो नेपाल’ दल दर्ता हुने वा नहुने अन्तिम निर्णय आगामी केही दिनभित्र टुंगिने सम्भावना छ।








