१९ मंसिर २०८२, शुक्रबार

गढवामा खाद्य व्यवस्थाद्वारा धान खरिद सुरु : किसान उत्साहित तर कोटा सीमित

१२ हजार क्विन्टल धान बेच्न चाहदा लिमिटेडले मात्र २ हजार क्विन्टलको कोटा दिँदा कृषक मर्कामा
प्रकाशित मिति :  11 November, 2025 4:46 pm


देउखुरी । दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले औपचारिक रूपमा धान खरिद सुरु गरेको छ ।

गाउँपालिकाको पहलमा स्थानीय किसानबाट प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपैया ८१ पैसाको दरमा धान खरिद सुरु गरिएको लिमिटेडले जनाएकाे छ ।

धान खरिद कार्यक्रम गाउँपालिकासँगको सहकार्यमा सञ्चालन भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । यस कार्यले स्थानीय कृषकहरूको उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले खाद्य व्यवस्था कम्पनीसँगको सहकार्य अघिल्लो वर्षदेखि नै सुरु भएको बताउँदै यसबाट कृषकहरु लाभान्वित भएकाे बताए ।

“अघिल्लो वर्षबाट नै हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सहकार्य गर्दै आएका छौं । यसले किसानलाई आफ्नो उत्पादन बेच्न सहज बनाएको छ”, अध्यक्ष पाेखरेलले भने, “लुम्बिनी प्रदेशमा पहिलोपटक स्थानीय सरकारकाे तर्फबाट गढवा गाउँपालिकाले यस्तो कार्यको थालनी गरेको हो । यसले कृषकलाई बजारको खोजी गर्न नपरी प्रत्यक्ष सरकारी निकायसँग उत्पादन बिक्री गर्ने अवसर दिएको छ ।”

उत्पादनको मात्रा अनुसार धान खरिद नगरेकामा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष पाेखरेलले भने “उत्पादन अनुसार लिमिटेडले धान खरिद नगर्दा किसानहरू मारमा परेका छन् । गढवाका कृषकहरूले करिब १२ हजार क्विन्टल धान बिक्री गर्न चाहेका थिए तर लिमिटेडले गढवालाई २ हजार क्विन्टलको मात्र कोटा उपलब्ध गराएको छ ।”

अध्यक्ष पोखरेलले किसानहरूको मिहिनेत र लगानीलाई ध्यानमा राखी आगामी वर्षमा कोटा विस्तार गर्न आवश्यक भएको बताए । “हाम्रो गाउँमा धान उत्पादन राम्रो भएको छ तर बजार अभावमा किसानलाई समस्या भएको छ । त्यसैले हामी निरन्तर पहल गर्दै छौं, सबै किसानको उत्पादन सहजरूपमा बिक्री हुन सकोस् भन्ने हाम्राे चाहना छ”, अध्यक्ष पाेखरेलले भने ।

गाउँपालिकाको प्राथमिकता नै कृषक हितमा केन्द्रित रहेको उल्लेख गर्दै अध्यक्ष पाेखरेलले भने, “हामीले खाद्य व्यवस्था कम्पनीसँग निरन्तर समन्वय गरिरहेका छौं । यदि केन्द्र वा प्रदेश सरकारले सहयोग गर्‍यो भने गढवाको धान उत्पादनले प्रदेशकै खाद्य सुरक्षामा योगदान पुर्‍याउन सक्छ ।”

गढवामा हाल धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको र किसानहरू उत्साहित रहेको स्थानीयहरूले बताएका छन् । धेरै किसानहरू आफ्ना उत्पादन बिक्री गर्न लाइनमा लाग्न थालेका छन् । उनीहरूका अनुसार सरकारले यस्तो सहकार्यलाई दीर्घकालीन बनायो भने कृषि क्षेत्र अझ आकर्षक बन्नेछ ।

स्थानीय किसान विष्णु यादवले भने, “पहिले निजी व्यापारीले मनपरी मूल्य तोक्थे । अहिले खाद्य कम्पनीले तोकेको मूल्यमा बेच्न पाउँदा राहत मिलेको छ ।”

गढवामा धान खरिदको यो प्रयासले कृषकहरूको आत्मविश्वास बढाएको गाउँपालिकाका प्रतिनिधिहरूले बताएका छन् । गाउँपालिकाले कोटा विस्तारका लागि प्रदेश सरकार र लिमिटेडसँग औपचारिक पत्राचारको तयारी पनि गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !