वक्याैता तिरेपछि १८ दिनपछि पुनः जडान गरियो सोनापुरको विद्युत लाइन
दाङ । दाङस्थित सोनापुर मिनरल एण्ड आयरन प्रा.लि. को विद्युत लाइन १८ दिनपछि पुनः जडान गरिएको छ । कम्पनीले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्दा बाँकी रहेको प्रिमियम महसुल बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि मंगलबार साँझ विद्युत आपूर्ति पुनः सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले गत ७ कात्तिकमा लामो समयदेखि तिर्न बाँकी रहेको रकम नबुझाएको कारण सोनापुर मिनरलको विद्युत लाइन विच्छेद गरेको थियो ।
उक्त बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म कम्पनीले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गर्दा बनेको थियो ।
प्राधिकरणका अनुसार सोनापुर मिनरलको कुल बक्यौता रकम २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । सो रकमलाई २८ किस्तामा तिर्ने सहमति अनुसार कम्पनीले मंगलबार पहिलो किस्ता स्वरूप ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो ।
नेपाल विद्युत प्राधिकरणका दाङ वितरण केन्द्र प्रमुखका अनुसार, “कम्पनीले किस्ता तिर्ने प्रक्रिया सुरु गरेकाले विद्युत आपूर्ति पुनः जडान गरिएको हो । बाँकी किस्ताहरू पनि तोकिएको अवधिभित्र बुझाउनुपर्नेछ,” उनले बताए ।
कम्पनीले भने बक्यौता तिर्न ढिलाइ हुनुको कारण आर्थिक वर्ष २०७५ पछि उद्योगमा परेको आर्थिक दबाब र उत्पादन अवरोध रहेको बताएको छ । पहिलो किस्ता तिरेसँगै कम्पनीले बाँकी किस्ताहरू पनि नियमित रूपमा बुझाउने प्रतिबद्धता जनाएको छ ।
विद्युत लाइन पुनः जडान भएपछि सोनापुर उद्योगमा उत्पादन र वितरण कार्य पुनः सञ्चालनमा आउने भएको छ । स्थानीय मजदुर र आपूर्तिकर्ताहरूले १८ दिनपछि उद्योगमा फेरि बत्ती बल्नु उत्पादन पुनः सुरु हुने संकेतका रूपमा लिएको जनाएका छन् ।








