१९ मंसिर २०८२, शुक्रबार

सेन्टर जेलमा पूर्व सभामुख महरा बिरामी : छिटो न्यायिक निर्णयको माग

प्रकाशित मिति :  14 November, 2025 8:02 am


काठमाडाैँ । पूर्व सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालमार्फत् पूर्व सभामुख कृष्णबहादुर महराको कमजोर स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरेका अभिव्यक्तिले राजनीतिक वृत्त पुनः तातेको छ ।

हिजो सेन्टर जेलमै पुगेर महरासँग भेट गरेको उल्लेख गर्दै उनले महराको स्वास्थ्य “स्पष्ट रूपमा कमजोर र चिन्ताजनक” देखिएको बताएकी छन् ।

शर्मासहित नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णध्वज खड्का, हेमराज शर्मा ‘डाइमण्ड’ र अन्य नेताहरूको समूह महरालाई भेट्न पुगेको थियो ।

भेटका क्रममा महराकाे स्वास्थ्य अवस्था बिग्रिएकाे पाइएकाे शर्माले स्टाटसमार्फत् सार्वजनिक गरेकी छिन् । महराको शारीरिक अवस्थाले चिन्ता बढाएको उल्लेख गर्दै उनले प्रश्न उठाएकी छिन्-“देशको प्रतिनिधिसभाको सभामुखसम्म भइसकेका व्यक्तिलाई पुर्पक्षका लागि जेलमै राखिरहनुपर्ने किन ? भागेर कहाँ जाने हो र ? दोषी ठहर भए कानुनअनुसार सजाय दिन नसक्ने अवस्था त भएन नि !”

उनले ढिलोसुधार हुने न्यायिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै लेखेकी छिन्, “ढिलो न्याय दिनु आफैमा अन्याय हो । अब न्यायालयले निष्पक्ष तर छिटो निर्णय गरिदियोस् भन्ने अपेक्षा छ ।”

भेटका क्रममा महराले दाङ–प्युठान क्षेत्रका पुराना समकालीन नेताहरूको हालखबर सोधेकाे सार्वजनिक गरेकी छिन् । पार्टी, आन्दोलन र संगठनप्रति निरन्तर चासो राख्ने महरा भेट्नेहरूसँग सौजन्य र चिन्तायुक्त रूपमा कुरा गरेको शर्मा बताउँछिन् ।

महराको स्वास्थ्य, परिवारको चिन्ता र पार्टी पङ्तिमा बढ्दो तनावलाई संकेत गर्दै उनले लेखेकी छिन्, “उहाँको छिटो स्वास्थ्यलाभ होस्, न्यायिक स्पष्टता मिलोस्, अनि परिवार र पार्टी कार्यकर्तामा रहेका चिन्ता–चखुनाहरू कम होओस् ।”

शर्माको स्टाटस सार्वजनिक भएपछि राजनीतिक वृत्तमा महराको स्वास्थ्य, न्यायिक प्रक्रिया र राज्यको भूमिकाबारे बहस फेरि चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस !