लुम्बिनी प्रदेशमा सातौँ अधिवेशन मंसिर ८ देखि सुरु हुँदै : हिउँदे सत्रका प्रमुख विधेयक दर्ता
दाङ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयका आधारमा मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले संविधानअनुसार अधिवेशन घोषणा गरेका हुन् ।
नेपालको संविधानको धारा १८३(१) र धारा १६६(२) अनुसार मंसिर ८ गते सोमबार दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुने जानकारी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले दिएका छन् ।
हिउँदे अधिवेशनका लागि आवश्यक तयारी अघि बढेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि नै जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन् ।
यसबाहेक दलित अधिकार सम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ। साथै, विभिन्न समितिका प्रतिवेदनहरू, महालेखा परीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण कागजातहरू पनि यसै अधिवेशनमा प्रस्तुत गरी छलफल गरिनेछ ।
गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो । अब सुरु हुन लागेको सातौँ अधिवेशनलाई आगामी राजनीतिक, कानुनी तथा संरचनागत कामको लागि महत्त्वपूर्ण मानिएको छ।








