कांग्रेस अर्घाखाँचीका नेता मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु
नवलपरासीको सुनवल–१३ मा पुलबाट कार खोल्सामा खस्दा ८० वर्षिय पौडेलको निधन, छोरा घाइते
नवलपरासी । नेपाली कांग्रेसका नेता तथा पाणिनी धातिबाङ निवासी मणिराम पौडेलको कार दुर्घटनामा निधन भएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७५ नम्बरको कार आइतबार नवलपरासीपूर्वको सुनवल नगरपालिका–१३ सूर्यबस्ती नजिक अनियन्त्रित भई पुलबाट करिब २५–३० मिटरसम्म तल खोल्सामा खस्दा ८० वर्षिय पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँका पौडेल नेपाली कांग्रेस पाणिनी धातिबाङ क्षेत्रका पुराना नेता तथा सामाजिक व्यक्ति रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा कार चालक तथा मृतक पौडेलका छोरा हरिशचन्द्र पौडेल घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचार भइरहेको छ।
कारमा घटनाका बेलामा बाबु–छोरामात्र सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएिएको छ ।








