१९ मंसिर २०८२, शुक्रबार
नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेला

एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ-महासचिव पाेखरेल

प्रकाशित मिति :  21 November, 2025 8:48 pm


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किएकाे बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेलामा सम्बोधन गर्दै महासचिव पाेखरेलले भने, “पछिल्ला राजनीतिक विवाद, न्यायिक अशान्ति र सरकारप्रति बढ्दो असन्तुष्टिमा अल्झिरहेकाे मुलुक एमालेकै सक्रियताले पुनः सही दिशातर्फ फर्किदै छ ।” खोजिरहेको दाबी गर्नुभएको छ।”

राज्य कमजोर बन्न थालेको अवस्थामा एमालेद्वारा देशव्यापी आयोजित कार्यक्रमहरूले अवस्थालाई सम्हाल्न सफल भन्दै महासचिव पाेखरेलले आगामी दिनमा याे भूमिका बढाएर लैजाने बताए ।

भदौ २३ र २४ मा भएका तोडफोड तथा विध्वंसकारी गतिविधि व्यापक बन्दै जाँदा एमालेका कार्यक्रमहरूले ती घटनालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै उनले पछिल्ला दिनहरूमा जनतामा देखिएको त्रास र अनिश्चितताको वातावरण कम हुनुमा पनि पार्टीको सक्रियता प्रभावकारी रूपमा देखिएको दाबी गरे ।

उनले मुलुकमा दलविहीनता, असंवैधानिक अभ्यास र संविधान समाप्त पार्ने प्रवृत्ति देखिनु चिन्ताजनक भन्दै संविधान नमान्ने व्यक्तिबाट कानुनी राज्य स्थापना नहुने टिप्पणी गरे ।

संविधानले जनताबाट निर्वाचित प्रतिनिधिले मात्र शासन गर्ने व्यवस्था स्पष्ट रूपमा ग्यारेन्टि गरेको भए पनि पछिल्ला गतिविधिले संवैधानिक मर्यादालाई चुनौती दिएको महासचिव पाेखरेलकाे भनाइ थियाे ।

जेनजी आन्दोलनलाई मुलुकको अस्थिरता चाहने शक्तिहरूले ‘प्रयोग’ गरेको भन्दै पोखरेलले भविष्यमा यस्ता घटना नदोहोरिउन् भनेर सबै जिम्मेवार पक्षहरू सचेत हुनुपर्ने धारणा राखे ।

राज्य कमजोर भइरहेका बेला नागरिकलाई सुरक्षित राख्न र राज्यलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक दस्ता गठन गरिएको र यस संरचनालाई टोलटोलसम्म विस्तार गरिने बताए ।

कार्यक्रममा बाेल्दै उनले मुलुकको समृद्धिमा निर्माण व्यवसायीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सबै निर्माण व्यवसायीलाई एकताबद्ध भएर विकास र समृद्धिमा लाग्न आग्रह गरे । उनले मङ्सिर २७ गते काठमाडौँमा हुने पार्टीकाे एघाराैँ महाधिवेशन उद्घाटन कार्यक्रममा ऐतिहासिक उपस्थिति रहने पनि बताए ।

परिषदका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज रचना खड्का, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज भागीरथ सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघका सहइञ्चार्ज चिरञ्जीवी पोखरेललगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का महासचिव रामशरण देउजाले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !