१९ मंसिर २०८२, शुक्रबार

गाउँपालिकाले धान खरिद गरिदिने भएपछि राप्ती गाउँपालिकाका किसानहरु हर्षित

प्रकाशित मिति :  23 November, 2025 7:01 am


लक्ष्मी पाेखरेल,
देउखुरी ।
राप्ती गाउँपालिकाले धान खरिद गरिदिने भएपछि किसानहरु हर्षित बनेका छन् । गाउँपालिकाले धान खरिद गर्ने सूचना प्रकाशन गरेसँगै कृषकहरुमा खुसीकाे सञ्चार भएकाे हाे ।

वर्षैभरिको मिहिनेत उचित मूल्यमा बेचिने पक्का भएपछि किसानहरुले राहत र भरोसा दुवै महसुस गरेका छन्। गाउँपालिकाले असोज ६ गतेदेखि मोटा धान खरीद गर्ने कार्यक्रम सुरु गर्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार राप्ती गाउँपालिका–५ मौरीगाउँस्थित माध्यमिक विद्यालयको नयाँ भवनमा स्थापना गरिएको खरीद केन्द्रबाट किसानहरूले धान बिक्री गर्न सक्नेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुर र गाउँपालिकाकाे संयुक्त आयाेजनामा धान खरिद कार्यक्रम सञ्चालन गरिने भन्दै अध्यक्ष बिष्टले एकजना किसानले अधिकतम २० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार धानकाे मूल्य प्रति क्विन्टल रु. ३,३३५.३२ ताेकिएकाे छ । किसानले व्यापारीसँग धान बिक्री गर्ने हुँदा निश्चित प्राप्त नगर्ने आशङ्का रहने गरेकाे गुनासाे आएपछि गाउँपालिकाले याे कार्यक्रम लागु गरेकाे अध्यक्ष बिष्टले जानकारी दिए ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले धान खरिदका लागि मापदण्ड तयार गरेर सूचना प्रकाशन गरेकाे जानकारी दिए । उनका अनुसार धान बिक्री गर्न चाहने किसानले नागरिकता, जग्गाधनी प्रमाण, बैंक खातासम्बन्धी कागजात र कृषि शाखाबाट सिफारिस लिएर आउनुपर्ने प्रावधान राखिएकाे छ ।

किसानहरुकाे सहजताका लागि गाउँपालिकाले गाउँमै प्रशासनिक सहयोग प्रदान गर्ने भन्दै पाठकले किसानलाई कागजपत्र बुझाउन, प्रक्रिया बुझाउन र लाइन व्यवस्थापन गर्न कर्मचारी खटाएकाे जानकारी दिए ।

यस वर्ष राप्ती गाउँपालिकाबाट ५०० क्विन्टल धान मात्र खरीद गर्ने निर्णय गरेको भए पनि किसानले कार्यक्रम सुरु हुनु नै ठूलो राहत भएको बताइरहेका छन् ।

धेरै किसानले बजारमा कहिले घट्ने कहिले बढ्ने मूल्यका कारण वर्षौंदेखि झेल्दै आएको अनिश्चितता यो वर्ष केही हदसम्म अन्त्य भएको प्रतिक्रिया दिएका छन्।

धान खरिदमा ल्याइने दानाको गुणस्तरबारे प्राविधिकहरूले समय–समयमा किसानलाई जानकारी गराइरहेका छन् । कचरा मिसिएको धान वा पर्याप्त रूपमा नसुकाइएको धान फिर्ता गरिने हुँदा किसानहरू पनि गुणस्तरीय उत्पादनका लागि बढी सचेत हुन थालेका छन् ।

धान सुकाउने ठाउँ, छान्ने चटाई र भण्डारणका विधिबारे सुझाव पाउँदै किसानहरूले आगामी वर्ष अझ राम्रो तयारी गर्ने सोच बनाएका छन् ।

राप्ती गाउँपालिकाको यो कार्यक्रम किसानका लागि तत्काल आर्थिक सहजताको मात्र होइन, दीर्घकालीन रूपमा कृषिमा भरोसा पुनःस्थापनाको संकेतका रूपमा समेत हेरिएको छ ।

गाउँपालिकाले आगामी वर्ष यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन र संभावित रूपमा खरीद परिमाण बढाउन अध्ययन थाल्ने तयारी गरेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !