लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : यस्ता छन् सात महत्वपूर्ण निर्णयहरु
दाङ । लुम्बिनी प्रदेश सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न सात महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उद्योग, कृषि, सामाजिक विकास तथा स्वास्थ्य क्षेत्रसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको हो ।
बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रस्तुत गरेको बाधा–अड्काउ फुकुवा सम्बन्धी प्रस्तावलाई स्वीकृति दियो। सडक सवारी तथा यातायात ऐन, २०७६ को दफा ११९ बमोजिम निर्देशनालय गठन नभएसम्मका लागि अत्यावश्यक कार्यहरू सोही मन्त्रालयमार्फत सम्पादन गर्ने निर्णय बैठकले गर्यो ।
मन्त्रालयकै तर्फबाट तयार गरिएको लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिने निर्णय पनि गरिएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए।
त्यसैगरी कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउने निर्णय बैठकले स्वीकृत गरेको छ ।
सामाजिक विकास मन्त्रालयले पेश गरेका दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।
स्वास्थ्य क्षेत्रतर्फ, भीम अस्पतालमा सरुवा भइ कार्यरत कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै, शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
लुम्बिनी प्रदेश सरकारले पारित गरेका यी सात निर्णयहरू प्रदेश शासन, प्रशासन, स्वास्थ्य, सामाजिक अधिकार र संस्थागत विकासमा महत्वपूर्ण मानिएका छन् ।








