१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेश सभा सचिवालयको वार्षिक प्रगति सार्वजनिक : प्रशासन आधुनिकीकरणतर्फ अघि बढ्दै

प्रकाशित मिति :  24 November, 2025 3:56 pm


लक्ष्मी पाेखरेल
देउखुरी ।
लुम्बिनी प्रदेश सभा सचिवालयले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत विगत एक वर्षको गतिविधि, उपलब्धि र आगामी योजनाबारे विस्तृत सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले एक वर्षमा सम्पादन गरेका कार्यक्रमकाे बारेमा जानकारी गराएका थिए । सचिव पुन मगरले पछिल्लो एक वर्षमा सचिवालयले सदन सञ्चालन प्रणाली सुदृढीकरण, विधेयक व्यवस्थापनलाई सुव्यवस्थित बनाउने प्रयास, अभिलेखलाई डिजिटल रूपान्तरण गर्ने काम, सूचना प्रवाह प्रणालीमा सुधारलगायतका गतिविधिलाई सक्रिय तुल्याउने तथा प्रशासनिक सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।

“हामी सचिवालयलाई कागजी प्रक्रियाबाट प्रविधिमैत्री सेवातर्फ लैजाने यात्रामा छौं। पारदर्शिता, प्रभावकारिता र जनउत्तरदायित्व नै हाम्रो प्रमुख लक्ष्य हो,” सचिव पुन मगरले भने।

उनका अनुसार चालु आर्थिक वर्षमा अघि सारिएका कार्यक्रमहरू योजनाबद्ध रूपमा अघि बढिरहेका छन्। बजेट कार्यान्वयन, कर्मचारी क्षमता विकास, सूचना प्रविधिको विस्तार तथा सभासद्हरूलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने काम निरन्तर जारी छ ।

पत्रकारहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै सचिव पुन मगरले प्रदेश सभा तथा सचिवालयलाई “आधुनिक, गतिशील र परिणाममुखी संस्थामा रूपान्तरण गर्ने” दृढ प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, प्रदेश सभा सचिवालयका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !