लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा प्रतिबद्धता आवश्यक-मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध र सभ्य समाज निर्माणको केन्द्रमा राख्दै सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण महिलासहित बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरू हिंसाका विभिन्न रूप सहन बाध्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले लैङ्गिक हिंसा अन्त्य परिवार, समुदाय तथा सरकारी संयन्त्र सबैको साझा जिम्मेवारी हुने बताउँदै संविधानले लक्ष्य लिएको समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माणका लागि कानुनमा तोकिएका प्रावधानको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार हिंसा प्रभावित व्यक्तिहरूको उपचार, संरक्षण तथा पुनर्स्थापनाका कार्यक्रमलाई अझ सक्षम र प्रभावकारी बनाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानतालाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको उल्लेख गर्दै उनले लागू गरिएको लैङ्गिक समानता नीतिले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको जानकारी दिए ।
यस्तै, प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि एक प्रतिशत आरक्षण व्यवस्था लागू गरी समावेशीतालाई संस्थागत बनाउँदै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको पनि मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।
१६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सुरक्षित र उन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास उनले व्यक्त गरे।








