पूर्व विशिष्टका सेवा–सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो-मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल–भारत सिमानास्थित भन्सार क्षेत्रहरूमा भइरहेका राजश्व चुहावटका गतिविधिबारे गम्भीर ध्यानाकर्षण गराएका छन् ।
भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुला सिमानाबाट अझै पनि ‘मिलेमतोमा हुने भन्सार छलि’ रोक्न नसकिएको उल्लेख गर्दै सुरक्षा निकायले यसको जिम्मेवारी स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको बताए ।
“अहिले पनि मिलेमतोमा भन्सार छलि गरेर सामान भित्र्याइन्छ। यसको नियन्त्रण कसले गर्ने हो ? आज देशको राजश्व संकलनमै गम्भीर बन्न सकेका छैनौं,” मुख्यमन्त्रीले प्रश्न गर्दै भने, “यो विषयमा विस्तृत छलफल गरेर जनताले सुशासनको अनुभूति पाउनेगरी कार्ययोजना बनाइन्छ ।”
यस क्रममा उहाँले ट्राफिक चेकजाँचका नाममा सर्वसाधारण र पर्यटकले भोग्नुपरेको झन्झट पनि तत्काल सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
मुख्यमन्त्री आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य मुद्दा भएको उल्लेख गर्दै प्रणाली बिग्रिएको नभई केही नेताहरूको व्यवहारले समस्या देखिएको टिप्पणी गरे ।
“कुनै नेता गलत होलान तर सिस्टम बिग्रिएको छैन,” उहाँको भनाइ थियो, “प्रणाली ठीक छ, गडबडी नेतृत्वको व्यवहारमा हुन सक्छ ।”
सुरक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै उनले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति जलाउनेलाई कानुनी दायरामा कडाइका साथ ल्याउन संघीय सरकार गम्भीर हुनुपर्ने सुझाए ।
सुशासन र भ्रष्टाचार न्यूनिकरणलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, “सरकारको नेतृत्व सम्हाल्दा गरेका संकल्प पूरा गर्नेगरी काम गरिरहेका छौं । मुख्यमन्त्री तथा मन्त्रिमण्डलका सदस्यमा आचारसंहिता लागू गरेका छौं । पूर्व विशिष्टका सेवा–सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।”
गृह मन्त्रालय, नेपाल सरकार र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको सुरक्षा गोष्ठीमा प्रदेशभरका सुरक्षा अधिकारीहरू सहभागी छन् ।








