१९ मंसिर २०८२, शुक्रबार

नेकपा एमाले ११ औँ महाधिवेशन अन्तिम तयारीमा : १२ समितिको प्रगतिबारे सचिवालयमा समीक्षा

प्रकाशित मिति :  26 November, 2025 12:00 pm


काठमाडौँ । नेकपा (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनलाई लिएर अन्तिम तयारीको चरणमा प्रवेश गरेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको महाधिवेशन सचिवालयको दोस्रो बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तयारीको समग्र प्रगति सार्वजनिक गरे ।

गौतमका अनुसार महाधिवेशन तयारीका लागि गठन गरिएका १२ समितिले आफ्नो–आफ्नो क्षेत्राधिकारभित्र रहेर सम्पन्न कार्य तथा बाँकी प्रक्रियाबारे बैठकमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले समितिहरूले देखाएका उपलब्धि र चुनौतीका बुँदाहरूलाई अब समन्वयपूर्वक टुंग्याउने काम भइरहेको बताए । बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने लोगोबारे पनि छलफल भएको र अब त्यसलाई अन्तिम रूप दिने चरणमा पुगिएको गौतमले जानकारी दिए । महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहनेछ।

निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक

गौतमले पार्टीले निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै यसलाई ‘नियमित र संवैधानिक प्रकृया’ भएको बताए । उनका अनुसार एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको छ र संवैधानिक समपरीक्षणका लागि निवेदन समेत दर्ता गरिसकेको छ।

शान्ति सुरक्षाप्रति सरकार गम्भीर नभएको आरोप

पार्टीका प्रचार प्रमुख गौतमले हाल देखिएको शान्ति–सुरक्षाको अवस्थाले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गम्भीरता नदेखाएको आरोप लगाए ।

“कार्यक्रममा नेताहरू जानासाथ देखिने अराजकता, विभिन्न क्षेत्रमा बढ्दो असुरक्षा—यी सबैले सरकार शान्ति सुरक्षाप्रति संवेदनशील छैन भन्ने देखाउँछन्,” उनले भने । एमालेका अनुसार सरकारले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आवश्यक पूर्वाधार तथा वातावरण निर्माणमा तत्परता देखाउनुपर्ने आवश्यकता छ।

गौतमले सरकारले ‘स्थान–हद नतोकिने’ गरी, सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने गरी शान्ति–सुरक्षाको स्थिति मजबुत बनाउन बेलैमा ध्यान दिनुपर्नेसमेत औंल्याए । एमालेको ११ औँ महाधिवेशन निकटिँदै जाँदा आन्तरिक तयारी तीव्र बन्दै गएको पार्टी नेताहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !