लिपुलेक लिम्पियाधुरा समेटिएको नक्शासहितको सय रुपैयाँको नयाँ नोट बजारमा
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंकनोट मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको छ। निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको यो नोट आजबाट औपचारिक रूपमा बजारमा आएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटको सङ्केत नम्बर २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहनेछ । नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने उल्लेख गरिएको छ ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र मध्य भागमा लिम्पियाधुरा–लिपुलेक समेटिएको नेपालको नक्सा राखिएको छ । त्यस्तै, मध्य भागमै अशोक स्तम्भको आकृति पनि अंकित गरिएको छ ।
दृष्टिविहीन व्यक्तिले छामेर पहिचान गर्न सक्ने एक थोप्ला नोटमा छुट्टै राखिएको छ। साथै, २ मि.मि. चौडा रङ परिवर्तन हुने सुरक्षण धागो पनि समावेश गरिएको छ, जसलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने बैंकले जनाएको छ । नोटमा वि.सं. २०८१ अंकित गरिएको छ ।
यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि १०० दरका नोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनमा ल्याइने भनिएको थियो तर राष्ट्र बैंकका अनुसार प्रचलनमा वास्तवमा ओ १८ ०००००१ देखि १९ क १९ ०३४५०० सम्मका नोट मात्र आएका छन् ।








