‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना : पाँच लाखको अक्षय कोष
दाङ (देउखुरी) । त्रिभुवननगर जेसीजकी पूर्व अध्यक्ष तथा १९९२ की शाखा अध्यक्ष जेसी माया शर्मा लोहनीले दाङ जिल्लामा महिला सशक्तिकरण र नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यले ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना गर्न पाँच लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेकी छन् ।
समाज रूपान्तरण, महिला अधिकार, शिक्षा, स्वास्थ्य, कृषि तथा सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका महिलालाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) का दिन यस पुरस्कारमार्फत् सम्मान गरिने छ ।
त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंक रावत (अनन्त) का अनुसार यो अक्षय कोषले महिलाको क्षमता अभिवृद्धि, नेतृत्व उदय, सामाजिक उत्थान र व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्नेछ ।
उनकाे भनाइमा, “पूर्व अध्यक्ष लोहनीज्यूद्वारा स्थापना गरिएको अक्षय कोष दाङ जिल्लाकै मात्र नभई सम्पूर्ण समुदायका महिलाका लागि उदाहरणीय प्रेरणा बन्नेछ । यो पुरस्कार महिलाको सक्रिय नेतृत्व र सामाजिक सहभागितालाई मजबुत बनाउने महत्वपूर्ण कदम हो ।”
त्रिभुवननगर जेसीजले आगामी वर्षदेखि औपचारिक रूपमा पुरस्कार वितरण प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ। समुदायमा सक्रिय महिला नेतृत्वलाई प्रोत्साहित गर्दै दाङमा निरन्तर प्रभाव छोड्ने यस पुरस्कारसँग स्थानीय सरोकार समूहहरू सकारात्मक रूपमा जोडिने अपेक्षा गरिएको छ ।








