रोल्पामा अवैध मदिरा प्रहरीद्वारा नष्ट
प्रकाशित मिति : 2 December, 2025 9:00 am
रोल्पा । जिल्लामा लुकाइ–छिपाइ राखिएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । खुङ्ग्री र सुलिचौर इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले सुनिलस्मृति गाउँपालिका–१ सल्ली पिपलका श्रीधर कँवरको घरमा राखिएको ९ वटा घरेलु मदिरा तथा मदिरा उत्पादनका लागि चामलबाट तयार पारिएको करिब ५०० लिटर कच्चा पदार्थ (जाँड) बरामद गरेको हो ।
प्रहरीका अनुसार सुराकीको आधारमा घरमा खोजतलास गर्दा ठूलो मात्रामा कच्चा पदार्थसहित तयार मदिरा फेला परेको थियो । नियन्त्रणमा लिइएका ती मदिरा तथा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध मदिरा नियन्त्रणका लागि पछिल्ला दिनमा गाउँ–बेँसतिर निगरानी थपिएको र कानुन विपरीत काम गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।








